इटहरी : गत वैशाखमा म्याद सकिएको इटहरीको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिले अझै कायममुकायम जिम्मेवारी सम्हालिरहेको छ । भागबन्डाको कारण ७ महिना बितिसक्दा समेत नयाँ व्यवस्थापन समिति गठनमा समस्या भएको हो । समितिको पदावधि समाप्त हुनु भन्दा एक महिना अगावै अभिभावक भेला बोलाउनुपर्ने कानुनी व्यवस्था भएपनि जनता माविमा कुनै प्रक्रिया सुरु भएको छैन ।

विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियाको लागि सर्वप्रथम छनौट सहयोग समिति गठन गर्नुपर्ने प्रावधान छ । पालिकाको शिक्षा शाखा प्रमुख अध्यक्ष र प्रधानाध्यापक सदस्य सचिव रहने सो समितिको सदस्यमा वडाध्यक्षलाई अनिवार्य समेट्नुपर्ने हुन्छ । जनता माविको हकमा ६ र ९ नम्बर वडाका अध्यक्षलाई समावेश गर्नुपर्ने भएको छ ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रमेश साहले वडा नम्बर ९ का वडाध्यक्षको फोन रिसिभ नभएको र बारम्बार सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको कारण बैठक बस्न नसकिएको बताए । नगर शिक्षा समितिले गठन गर्ने छनौट समिति नै बन्न नसकेपछि व्यवस्थापन समिति गठनको लागि ढिलाइ भएको उनको भनाइ छ । छनौट समिति गठनमै भएको ढिलासुस्ती बारे राजनीतिक भागबन्डा नमिलेको हुनसक्ने उनको आशङ्का छ ।

मूलतः दलीय भागबन्डा नमिल्दा समस्या देखिएको अभिभावकहरूले आकलन गरेका छन् । नगर शिक्षा समितिका संयोजक तथा मेयर हेमकर्ण पौडेलले स्पष्ट नपारेको कारण प्रक्रिया सुरु नभएको बताइएको छ ।

नेकपा एमालेका काशीनाथ दंगालले दुई कार्यकाल नेतृत्व गरिसकेकाले काँग्रेसले अवसर पाउनुपर्ने तर्क अगाडी आएको छ । नेपाली काँग्रेसबाट दीपक ढकाल, विजय केसी र विमल नेपाल मध्ये एकलाई अध्यक्ष बनाउने तयारी छ । त्यसमध्ये पनि ढकाल र नेपाल मध्येमा सहमति गराउने गरी काँग्रेस वृत्तमा छलफल चलिरहेको छ । ढकाल अभिभावक नभए पनि अभिभावक भेलाबाट निर्वाचित ४ जनाको समितिले चन्दादाता, विज्ञ वा समाजसेवी मध्ये मनोनीत गर्ने कोटामा ढकाललाई समेट्ने तयारी छ ।

९ नम्बर वडा अध्यक्ष एमालेबाट निर्वाचित भएपनि ढकालको हकमा समर्थन गर्न सक्ने आकलन काँग्रेस वृत्तमा छ । राजनीतिक रूपमा समेत प्रभावशाली देखिएका ढकालले भने आफ्नो इच्छा नभएको प्रतिक्रिया दिएका छन् ।

एमालेमा पनि सहमति जुटाउने प्रयास थालिएको छ । एमालेमा वर्तमान अध्यक्ष काशीनाथ दंगाललाई नै अगाडी सार्नुपर्ने एक थरीको माग छ । दंगालले जनता माविको विकासमा धेरै मेहनत गरेकाले उनलाई पुनः अध्यक्ष बनाउनुपर्ने दबाब छ । उनी पनि सर्वसम्मत भए विद्यालयलाई थप स्तरोन्नति गर्नतर्फ लाग्ने बताउँछन् ।

अर्कातिर एकै व्यक्तिले मात्र अवसर नपाउने भन्दै रञ्जु सिग्देललाई अध्यक्ष बनाउने लबिङमा केही नेताहरू लागि परेका छन् । एमालेको संस्थापन पक्षले सिग्देललाई अध्यक्ष बनाएर जानुपर्ने बताएको छ । वडाध्यक्ष थापाले सहमतिको आधारमा टुङ्गो लगाउनुपर्ने सङ्केत गरेका छन् । पार्टीले सिग्देललाई नै बनाउनुपर्ने अडान लिएपनि थापा सहमतिमै समिति गठन गर्नुपर्ने बुझाइमा छन् ।

त्यस बाहेक अभिभावक भेलामा दलीय हस्तक्षेप नगर्न अभिभावकले सचेत गराइरहेका छन् । अभिभावक भेलाबाट गठन हुने ४ सदस्यीय समिति चयनमा निर्वाचन हुने भएपछि को अध्यक्ष बन्ने प्रष्ट देखिएको छैन । पछिल्लो अवस्था अनुसार ४ सदस्यीय समितिले मनोनीत गर्ने थप दुई सदस्य मध्येबाट अध्यक्ष बन्ने सम्भावना छ । तर प्रक्रिया नै सुरु नभएको जनता माविमा कहिलेसम्म नेतृत्व विहीनताको अवस्था रहन्छ भन्ने यकिन छैन ।