धरान : धरान १० के रन यसपालि विश्व भर्चुअल रनको रूपमा फागुन ९ गते आयोजना गर्ने तयारी सुरु भएको छ । यसपालि धरान रन खुल्ला दौड प्रतियोगिताको १४औँ संस्करण हो ।
भर्चुअल रनमा विश्वका जुनसुकै ठाउँका धावक धाविका सहभागी हुन पाउने छन् । धरानमा हुने रनमा भने नेपालका अधिकतम धावक धाविका सहभागी गराइने धरान रनका अध्यक्ष हेमन सुनुवारले मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा बताए ।
धरान रनले नेवा च्यारिटि १० के रन आयोजना गर्दै आएको छ । दौड प्रतियोगितामा अन्तर्राष्ट्रिय धावक धाविकाहरू पनि सहभागी हुनेछन्। यसपालि १६-३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरिएको उनले बताए ।
प्रतियोगितामा दौडको ठिक समय मापन गर्न ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ । नेपालमा धरान रनले ११ औँ संस्करण देखि चिपको प्रयोग गर्न थालेको हो ।
१० किलोमिटर दौडको रुट पुतली लाइनबाट सुरु भएर देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चौक, पानी टङ्की, कल्याण चौक, मङ्गलवारे, रत्न चोक, बुद्घ चोक हुँदै पुनः भानुचौकमा समापन हुनेछ ।
प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्मका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । १२ देखि १५ वर्ष भित्रका ‘यु–१५’ समूह, ४९ देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’ समूहका, सुपर भेट्रान महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।
४० देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगीताका १३औँ संस्करणमा ४ हजार धावक, धाविकाहरू सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ कि.मि. दौड गराउँदै आएको छ ।


































































