धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा रेडियोलोजिकल सहित सबै जाँच गराउन बाहिरका डाक्टरहरूको लागि पनि खुल्ला गरिएको छ ।

प्रतिष्ठानको ल्याबमा बाहिरका चिकित्सकको सिफारिसमा पनि रगत लगायतको जाँच गराउन सकिने नयाँ व्यवस्था गरिएको हो । यसबाट धरान बाहिर वा वीपी बाहिर जाँच गराउने कुनै पनि बिरामीलाई डाक्टरले ल्याब रिपोर्ट ल्याउनु भने उनको सिफारिसमा वीपीमा जाँच गराउन पाउने सुविधा थपिएको छ ।

प्रतिष्ठानकी प्रवक्ता प्राडा. अञ्जु प्रधानले विहिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी सार्वजनिक गरेकी हुन ।

उक्त सुविधा गत २०२५ नोभेम्बर ४ देखी नै सुरु भएको तर, जनहितका लागि आम सञ्चार माध्यम लगायतका मिडियामा नआएकोले प्रतिष्ठानले व्यवस्था गरेको नयाँ सुविधाका विषय जनमानस सम्म पुर्‍याइदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

बिरामीहरूलाई सहज, छरितो र समयमै सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानको अस्पताल सेवा अन्तर्गत उपलब्ध प्रयोगशाला तथा रेडियोलोजीकल जाँचहरू अब प्रतिष्ठान बाहिरका चिकित्सकको सिफारिसका आधारमा पनि गराउन सकिने व्यवस्था गरिएको विज्ञप्तिमा बताइएको छ ।

ल्याब सेवाका इच्छुक बिरामीहरूले कार्यालय समय भित्र प्रतिष्ठानको जीओपीडी स्थित हेल्प डेस्कका सहजकर्तासँग सम्पर्क गरी आवश्यक कागजात र परामर्श लिएर सम्बन्धित काउन्टरमा बिलिङ प्रक्रिया पूरा गरी सेवा लिन सकिने छ ।

कुनै पनि बिरामीले वीपीको केन्द्रीय प्रयोगशाला वा रेडियोलोजी विभागबाट जाँच गराउन सकिने उक्त व्यवस्था स्वास्थ्य बिमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारद्वारा सञ्चालित कार्यक्रमहरू अन्तर्गतका बिरामीहरूका लागि भने लागु नहुने जनाइएको छ ।