धरान : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले नौकरशाही प्रक्रियामा कडाइ, कानुनी अनुशासन र औद्योगिक विकासमा देखिएका अवरोध हटाउन संस्था कडाइका साथ अघि बढ्ने बताएका छन्।
धरान औद्योगिक क्षेत्रको ५४औँ वार्षिकोत्सवमा बोल्दै उनले विगतमा 'कागजको सानो चिटमा लेखेर काम गर्ने चलन' समाप्त भएको बताउँदै भने“अहिले नियम बनेपछि हामी कानुन बाहिर जान सक्दैनौँ।
उद्योगी व्यवसायीहरू पनि नियम अनुसार काम गर्न अभ्यस्त हुनुपर्नेछ। केही समय जटिल हुन सक्छ, तर अब कानुनबिना कुनै प्रक्रिया अघि बढ्दैन।
महाप्रबन्धक ओलीले कोशी प्रदेशको उद्योग इतिहास स्मरण गर्दै विराटनगर जुट मिलदेखि दमकमा घोषणा गरिएको २१०० बिघाको औद्योगिक क्षेत्रबारे विस्तृत विवरण प्रस्तुत गरे।
उनका अनुसार, तीमध्ये १,७०० बिघा आईडीएमएलको नाममा आइसकेको छ भने ९४२ बिघामा चिनियाँ लगानीमा बन्ने औद्योगिक पार्क विभिन्न कारणले वर्षौँदेखि रोकिएको छ।
रोकिएको कामलाई अघि बढाउन आईडीएमएलले कडा निर्णय लिएको उल्लेख गर्दै ओलीले भने 'हामीले या त बनाऊ, या छोडेर जाऊ' भनेर पत्र पठाएका छौँ। त्यो पत्र बेइजिङ पुग्यो, परराष्ट्र मन्त्रालय पुग्यो र अन्ततः प्रधानमन्त्री कार्यालय सिंहदरबारमै बैठक बस्नुपर्‍यो।'
उनका अनुसार किसानले क्षतिपूर्ति लिएर छोडेको जग्गामा उद्देश्यअनुसार उद्योग नबनेको कारण जग्गा फिर्ता गर्नुपर्छ भन्ने माग चर्किँदै गएको छ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुनसरी अध्यक्ष गोपाल श्रेष्ठले धरानमा रहेको महत्त्वपूर्ण सरकारी कार्यालय बस्ने ठाउँ अभावका कारण 'स्थानान्तरणको जोखिम' बढेको बताए। उनले केही समयका लागि धरान ट्राफिक कार्यालयलाई उद्योग क्षेत्रभित्र जग्गा उपलब्ध गराउन अनुरोध गरे।
श्रेष्ठले उद्योगी-व्यवसायीले औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दा सहज वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्लेले सञ्चारकर्मीलाई उद्योगसम्बन्धी विस्तृत विवरण उपलब्ध गराउन आग्रह गर्दै उद्योग प्रगति र सङ्घ-संस्थाबिचको सहकार्य मजबुत बनाउन सुझाव दिए ।
५४औँ वार्षिकोत्सवको अवसरमा कमला पोलिथिन इण्डस्ट्रीज, सिद्धि विनायक घरेलु उद्योग, धरान स्टिल फेब्रिकेटर्स वर्क्स उद्योगहरूलाई सम्मान प्रदान गरेको छ। 
त्यसै गरी धरान शाखाका कर्मचारी सहायक प्राविधिक संगीत ढकाल, इन्जिनियर सविव नदाफ, कर्मचारी सुलभ थापा मगर, सुरक्षा गार्ड प्रमुख बलराम राई, सुरक्षा गार्डहरू शेरबहादुर प्रधान, रत्न बहादुर श्रेष्ठलाई उत्कृष्ट सेवा प्रदान गरेकोमा नगदसहित सम्मान प्रदान गरिएको छ।
वार्षिकोत्सव शाखा प्रमुख जीव नारायण बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योगी-व्यवसायी, कर्मचारी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
dharn-audogig