धरान : प्याब्सन एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि प्रभात बोडिङ स्कुल ले जितेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार सम्पन्न लिग चरणको फाइनल खेलमा प्रभात स्कुलले सिद्धार्थ स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
उपाधिसँगै प्रभात बोडिङ स्कुलले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। खेलको प्लेयर अफ द म्याच प्रभात स्कुलका आशिष राई घोषित भए। उनले नगद ५ सय रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे।
फाइनल खेलमा प्रभात बोडिङ स्कुलका आशिष राईले खेलको १८औँ मिनेटमा पहिलो गोल गरेका थिए भने निमसाङ मगरले २०औँ मिनेटमा दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए। खेलमा सिद्धार्थ स्कुलले गोलका लागि थुप्रै प्रयास गरे पनि सफल हुन सकेन।
प्रतियोगितामा फस्ट रनर अप बनेको महेन्द्र मेमोरियल एकेडेमी दुहबीले नगद १५ हजार, सेकेन्ड रनर अप मुनबिम एकेडेमीले नगद ८ हजार तथा तेस्रो स्थान हासिल गरेको सिद्धार्थ स्कुलले नगद ७ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगत विधातर्फ प्लेयर अफ द टुर्नामेन्ट प्रभात स्कुलका निमसाङ थापा मगर घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै,वेस्ट गोलकिपर प्रभातका सिनम बिष्ट,वेस्ट डिफेन्डर मुनविमका सगम बस्नेत,वेस्ट मिडफिल्डर सिद्धार्थका जीवन खड्का,वेस्ट स्ट्राइकर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल घोषित भए । उनीहरूले नगद २ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे। वेस्ट कोच प्रभात बोडिङ स्कुलका उमेश जिमी घोषित भए। उनले नगद ३ हजार रुपैयाँ सहित मेडल प्राप्त गरे।
फुटबललाई व्यवसाय र रोजगारीसँग जोड्नुपर्छ : एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राई
समापन समारोहका प्रमुख अतिथि एन्फा मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले फुटबललाई केवल खेलको रूपमा मात्र नभई व्यवसाय र रोजगारीसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले फुटबल क्षेत्रमा खेलाडी मात्र नभई प्रशिक्षक, रे फ्री, आयोजक तथा प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताए।
अध्यक्ष राईले निजी विद्यालयहरूको सङ्गठन प्याब्सनसँग सहकार्य गर्दै विद्यालय स्तरबाटै फुटबलको ग्रास रुट विकास गरी आर्थिक आम्दानीको बाटो खोल्न सकिने उल्लेख गरे। प्रतियोगिता आयोजना गर्नु अघि कम्तीमा एक महिनाको व्यवस्थित प्रशिक्षण, गुणस्तरीय खेलमैदान र उत्कृष्ट खेलाडीलाई छात्रवृत्तिमार्फत प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए।
आगामी योजनाबारे जानकारी दिँदै अध्यक्ष राईले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी फुटबलका लागि स्थायी बजेट सुनिश्चित गर्न पहल गरिने बताए। हाल सञ्चालनमा रहेको प्रतियोगितालाई निरन्तरता दिँदै भविष्यमा ५०औँ संस्करणसम्म पुर्याउने लक्ष्य रहेको पनि उनले बताए।
कार्यक्रमका विशेष अतिथि प्याब्सन सुनसरी अध्यक्ष नेल्शन थानेश्वर ढकाल ले सुपर लिगमा प्रवेश गरेका चार टिमलाई बधाई दिँदै प्याब्सन र एन्फाको संयुक्त प्रयासबाट विद्यालय स्तरको फुटबल अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता एन्फा सुनसरी अध्यक्ष नवीन राई ले गरेका थिए। उनले हाल ४२ वटा विद्यालय सहभागी रहेको प्रतियोगितालाई आगामी दिनमा अझ भव्य बनाउँदै हरेक विद्यालयलाई जितको लक्ष्यसहित तयारी गर्ने वातावरण निर्माण गरिने बताए। विद्यालय स्तरको फुटबल विकास नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको अध्यक्ष राईले बताए ।



































































