धरान : नेपाल सुनचाँदी कला व्यवसायी संघले सम्पत्ति शुद्धिकरण निवारण ऐन, विलासिता शुल्क तथा लेखासम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार संघको सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा धरानमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यवसायीहरूलाई हाल लागू कानुनी व्यवस्था, कर प्रणाली तथा लेखा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको थियो।
संघका सुनसरी जिल्ला अध्यक्ष प्रदीप गहतराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अध्यक्ष गहतराजले विलासिता शुल्क सुनचाँदी व्यवसायीका लागि गम्भीर समस्या बनेको बताए। उनले सुनको मूल्य आकासिँदा बाहिरबाट हेर्दा व्यवसायी मालामाल भएको जस्तो देखिए पनि वास्तविकतामा व्यवसाय धरासायी बन्दै गएको उल्लेख गरे। व्यवसायीमाथि चन्दा आतंक बढ्दै गएको र विलासिता करका कारण धेरै व्यवसाय बन्द हुने अवस्थामा पुगेको उनको भनाइ थियो।
प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत रविनलाल दास र सिर्जन भण्डारीले सहजीकरण गरेका थिए।
संघका सुनसरी जिल्ला सचिव रमेश कालिकोटेले दिएको जानकारीअनुसार कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, नेपाल सुनचाँदी कला व्यवसायी संघका केन्द्रीय महासचिव बालकुमार लामिछाने, केन्द्रीय सचिव प्रेमबहादुर विश्वकर्मी, केन्द्रीय कार्यकारिणी निर्देशक हरि रसाइली, संघका सुनसरी शाखाका निवर्तमान अध्यक्ष दुर्गाबहादुर विश्वकर्मी तथा इलाका प्रहरी कार्यालय धरानका असई रविन पाण्डेलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी धनकुटा, झापा र तेह्रथुम जिल्लाबाट आएका संघका पदाधिकारी तथा व्यवसायीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।


































































