सुनसरी : नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को २० औँ साधारण सभा पुस २८ गते हुँदैछ ।

उक्त साधारण सभाले नयाँ नेतृत्वको चयन गर्दैछ । त्यसअन्तर्गत सुनसरीका बासिन्दा बासुदेव दाहाल उपाध्यक्ष पदका प्रत्याशी छन् । इनरुवा नगरपालिका-६, मधेसा, झकनझोराका स्थायी बासिन्दा दाहाल अहिले काठमाडौँको बागबजारमा प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्छन् ।

उनको शैक्षिक परामर्श सेवाबाट लाभान्वित भएर एक हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अवसर हासिल गरिसकेका छन् । बढीजसो अष्ट्रेलियाका लागि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने दाहालले यसअघि इक्यानको सचिवको जिम्मेवारी बहन गरिसकेका छन् ।

१९ औँ साधारणसभामा महासचिवका उम्मेदवार थिए, तर पराजित भए । यसपटक जित्ने गरी चुनावी यात्रामा लागेको उनी बताउँछन् । मधेसाकै जनता माविबाट एसएलसी र महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक गरेका उनी विद्यार्थी जीवनमै राजनीतिक गतिविधिमा संलग्न भए ।

पहिला एमाले र पछि सशस्त्र द्वन्द्वकालमै माओवादीमा सम्बद्ध रहे । त्यसक्रममा केही समय जेल जीवन पनि बिताए । माओवादी गतिविधिमा सामेल भएर जेल परेका उनी त्यहाँबाट रिहा भएपछि जीवनरक्षाका निम्ति काठमाडौँ गएका हुन् । यद्यपि, त्यहाँ रहेर पनि पार्टी कामसँगै शैक्षिक क्षेत्रमा संलग्न भए ।

उनले निजी विद्यालयको शिक्षकबाट आफ्नो शैक्षिक सेवा प्रारम्भ गरेका हुन् । ललितपुर जिल्लालाई कर्मथलो बनाउँदै शिक्षण पेशामा संलग्न उनले त्यहीँबाट प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सुरु गरे । तर, विगत ७ वर्षदेखि उनले कन्सल्टेन्सीलाई काठमाडौँको पुतलीसडक हुँदै अहिले बागबजारमा स्थापना गरेका छन् ।

शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय व्यवसायीको सर्वोपरि हितका निम्ति दत्तचित्तका साथ लागि पर्ने उनले अठोट गरेका छन् । विगतमा सदस्य र सचिव रहँदा उक्त संस्थामा खेलेको भूमिकाका कारण व्यवसायीबिच लोकप्रिय छन् ।

आउँदा दिनमा शैक्षिक परामर्श व्यवसायको श्रीवृद्धिसँगै उक्त क्षेत्रका व्यवसायको हितका निम्ति सम्पूर्ण समय खर्चिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।