सुनसरी : कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सुनसरीका मणिन्द्र बहादुर कटुवालको अध्यक्षतामा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेश तदर्थ समिति गठन गरिएको छ।
होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष देवी गौतम ‘रबिन’को प्रमुख आतिथ्यतामा शुक्रबार इटहरीस्थित होटल त्रियुगामा बसेको भेलाले कटुवालको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिति घोषणा गरेको हो।
भेलाले इटहरीका तेजबहादुर पुरीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ। पुरी होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्षसमेत हुन्। यसैगरी मोरङका खिलकुमार सुवेदी र खोटाङका जेपी राई उपाध्यक्षमा चयन भएका छन्।
महासचिवमा सुनसरीका उमानाथ दाहाल, सचिवमा तेह्रथुमका प्रकाश श्रेष्ठ र कोषाध्यक्षमा झापाकी इन्दिरा कुमारी श्रेष्ठ नियुक्त भएका छन्।
सदस्यमा मोरङका रमेश श्रेष्ठ, सुनसरीका केशव गिरी, धनमाया श्रेष्ठ, मिनबहादुर खत्री, आरोन कार्की, ताप्लेजुङका इन्द्रनारायण भट्टराई र झापाका नवीन खरेल चयन भएका छन्।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले कोशी प्रदेशमा पर्यटन गतिविधि र सरकारी लगानी सिमित व्यक्तिहरूको सिन्डिकेटमा सीमित रहँदै आएको बताउँदै त्यसलाई तोड्न आवश्यक रहेको धारणा राखे। गण्डकी प्रदेश होटल व्यवसायी संघको उदाहरण दिँदै उनले कोशी प्रदेशमा पनि पर्यटन बोर्डसँग सहकार्य गरेर करोडौँ बजेट परिचालन गर्न सकिने बताए।
तदर्थ समितिका अध्यक्ष मणिन्द्र कटुवालले गठन गरिएको समिति कसैको समानान्तर संरचना नभई सबैको साझा संस्था बन्ने उल्लेख गरे। उनले सबै जिल्लाको प्रतिनिधित्व हुने गरी समितिलाई थप सशक्त रूपमा विस्तार गर्ने जानकारी दिए।



































































