धरान : किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घको राष्ट्रिय सम्मेलनले कुलुङ छुट्टै जाति समुदाय भएको मान्यताका लागि स्थानिय सरकारसँग पहल गर्ने निर्णय गरेको छ ।

सङ्घको पौष २६ र २७ गते धरानमा भएको छैटौँ राष्ट्रिय महाअधिवेशनले उक्त निर्णय गरेको नव निर्वाचित केन्द्रीय अध्यक्ष दौलथ कुलुङले बताए । उनले भने ‘कुलुङ छुट्टै जाति समुदाय भएको सङ्घीय सरकारले मान्यता नदिँदा स्थानीय तहबाटै मान्यता पाउने पहल सुरु गर्ने निर्णय गरिएको हो ।’

उनका अनुसार डा.ओम गुरुङको नेतृत्वमा २०६५ (सन् २००८) मा गठन भएको थप आदिवासी सिफारिस कार्यदलले कुलुङ समुदायलाई विशिष्ट जातीय समूहको रूपमा मान्यता दिन सिफारिस गरेको थियो । तर सङ्घीय सरकारले अहिलेसम्म सिफारिस औपचारिक रूपमा कार्यान्वयन नगरेको कारण, स्थानीय तहबाटै मान्यता प्रक्रिया अघि बढाइएको उनले बताए ।

कुलुङ भाषामा हाल सरकारी दैनिक गोरखापत्रमा छुट्टै पृष्ठ प्रकाशन हुने गरेको छ । अध्यक्ष कुलुङले आफ्नो कार्यकालमा कुलुङ भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने कार्यक्रम अघि बढाइने बताए ।

कुलुङ जाति समुदायलाई सामाजिक सशक्तीकरण गर्दे समुदायका नयाँ पुस्तालाई अधिकार र पहिचानबारे शिक्षित गर्ने, आर्थिक र प्रशासनिक क्षेत्रमा समावेशीकरणका लागि शिक्षामा जोड दिइने तथा सक्रिय र जिम्मेवार नागरिक बनाउने कार्यक्रम सञ्चालन गरिने बताए ।

कुलुङ समुदाय भौगोलिक दुर्गम क्षेत्रका आदिवासी भएका कारण शिक्षा र राज्य सेवामा पहुँचबाट वञ्चित हुनु परेको उनको भनाई छ । अध्यक्ष कुलुङले भने ‘किरात जाति भित्रको समुदाय भएको वर्गीकरण गरिएका कुलुङ जातिको ऐतिहासिक पहिचान ओझेलमा परेका हो ।’

उत्थान सङ्घको २५ सदस्यीय कार्य समिति 

महाअधिवेशनले सङ्घको केन्द्रीय अध्यक्ष दौलथ कुलुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन निर्वाचित गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष लाकपद सोम्फोरु, उपाध्यक्षहरू राबहादुर कुलुङ, अजय अलङ्कार कुलुङ, सम्झना वान्तवा कुलुङ चयन भएका छन् । महासचिव दीपेन्द्र कुमार थोरेप्पा तथा सचिवहरू संयोगाान्त कुलुङ, प्रदीप होङेलु, यमकला कुलुङ चयन भएकी छन् ।

कोषाध्यक्ष डिल्ली कुमारी कुलुङ, सहकोषाध्यक्ष कमान सिङ कुलुङ रहेका छन् । सदस्यहरूमा जैनारायन कुलुङ, हकिुमार दावार कुलुङ, होमबहादुर कुलुङ, प्रेम कुलुङ, सीता वालाखाम कुलुङ, चन्द्रलाल कुलुङ, भीम बहादुर कुलुङ, सन्देश कुलुङ, दिलमाया कुलुङ, सुवास कुलुङ, टंकराज कुलुङ, गङ्गाराम कुलुङ, हेमरजि थिमा कुलुङ, भगत कुमार गदोहो कुलुङ छन् ।