इटहरी : इटहरीमा नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको किण्डर पिलर एकेडेमीले आयोजना गरेको ‘हिउँदे उत्सव’ (विन्टर कर्भिनल) भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेकाे थियाे।
विद्यालयमा अध्ययनरत बालबालिका र उनीहरूका अभिभावकको प्रत्यक्ष सहभागितामा सञ्चालन गरिएका विभिन्न स्टलहरू कार्यक्रमका मुख्य आकर्षण बने। फुड स्टल, बुक स्टल, गेम स्टल, फेस पेन्टिङ स्टल तथा क्रिएटिभ कर्नरमा बालबालिकाको उत्साहपूर्ण सहभागिता देखिएको थियो।
क्रिएटिभ कर्नरमा बालबालिकाले चित्रकला, हस्तकला तथा रंगीन गतिविधिमार्फत आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गर्दा अभिभावकहरू उत्साहित देखिन्थे। गेम स्टलमा बालबालिकाको उमङ्ग झल्किएको थियो भने फुड स्टलमा अभिभावकहरूले तयार पारेका परिकारहरूले कार्यक्रमलाई अझ रोचक तथा स्वादिष्ट बनाएको थियो। त्यस्तै, बुक स्टलले बालबालिकामा पठन संस्कृतिको विस्तार र रुचि विकासमा महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ।
यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, सामाजिक सीप, नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै अभिभावक विद्यालय सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। विगत १० वर्षदेखि गुणस्तरीय र सीपमूलक शिक्षामा क्रियाशील किण्डर पिलर एकेडेमीले प्रारम्भिक बालशिक्षालाई खेल, सिर्जनात्मकता र व्यवहारिक सिकाइसँग जोड्दै बालबालिकाको समग्र व्यक्तित्व विकासमा केन्द्रित हुँदै आएको विद्यालय व्यवस्थापनले जनाएको छ।




































































