धरान : माघे सङ्क्रान्ति पर्वको लागि धरानमा बुधवार सम्म तरुल तथा कन्दमूल १ सय टन भित्रिएको धरान १३ स्थित कृषि बजारले जनाएको छ ।
तरुलजन्य उत्पादन पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर,सङ्खुवासभा लगायत क्षेत्रबाट कृषि बजारमा भित्रिएको हो । कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार हाल कृषि बजारबाट करिब १० लाख रुपैयाँ बराबरको तरुल बिक्री वितरण भइरहेको छ। तरुलको मूल्य प्रति केजी १ सय रुपैयाँ तोकिएको उनले जानकारी दिए।
व्यवस्थापक भट्टराईका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुलको आपूर्ति केही कम भएपनि इस्कुसको जरा भने निरन्तर बजारमा आइरहेको छ।
भोलि बिहीबार अर्थात् माघ १ गते मनाइने माघे सङ्क्रान्तिमा विशेष परिकारका रूपमा तरुल, सखरखण्ड र पिँडालु खाने चलन रहेकाले बजारमा माग ह्वात्तै बढेको हो। हाल बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल र पातले तरुललगायत विभिन्न प्रजाति उपलब्ध छन्।
व्यवसायीहरूका अनुसार युवाहरूको विदेश पलायन र मधुमेहका बिरामी बढ्दै जानुले समग्र मागमा केही कमी आएपनि पर्व नजिकिँदै जाँदा व्यापार भने उल्लेख्य रूपमा बढेको छ।
माघे सङ्क्रान्तिमा घ्यू, चाकु र तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने परम्परा छ। जाडो मौसममा शरीरलाई न्यानो र स्वास्थ्यका लागि लाभदायक मानिने कन्दमूलको विशेष महत्त्व रहेको जनविश्वास छ।