सुनसरी : नेकपा (एमाले) सुनसरीमा उम्मेदवार चयनको विषयलाई लिएर आन्तरिक विवाद चुलिएको छ। पार्टीको प्रदेश तथा जिल्ला इन्चार्जको सिफारिसअनुसार सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम तय भए पनि क्षेत्र नम्बर २ र ३ मा असन्तुष्टि बढ्दै गएको छ।

प्रदेश र जिल्ला इन्चार्जको सिफारिस अनुसार क्षेत्र नम्बर १ मा जयकुमार राई, क्षेत्र नम्बर २ मा देवराज फुयाल, क्षेत्र नम्बर ३ मा भगवती चौधरी र क्षेत्र नम्बर ४ मा जगदीशप्रसाद कुसियैतलाई उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ।

तर क्षेत्र नम्बर २ को उम्मेदवारीलाई लिएर पार्टीभित्र तीव्र असंन्तुष्टी देखिएको छ। सुरुमा सिफारिस भएका नन्द बस्नेतले घरायसी कारण देखाउँदै उम्मेदवारी नउठाउने निर्णय गरेपछि देवराज फुयाललाई अगाडि सारिएको हो। यस क्रममा जिल्ला इन्चार्ज कुसियैतसँग समन्वय गरिएको बताइन्छ। यद्यपि, ‘गुण्डु क्षेत्रमा उपयुक्त उम्मेदवार नभएको’ भन्दै माथिल्लो तहसम्म नकारात्मक रिपोर्टिङ पुगेको स्रोतको दाबी छ। पार्टीभित्र अन्य सक्षम नेता हुँदाहुँदै जिल्ला कमिटी सदस्यलाई टिकट दिन खोजिएको भन्दै असन्तुष्टि बढेको छ।

यस्तै, भगवती चाैधरीकाे किल्ला मानिएकाे क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य तैयव हुसेनले आफूलाई टिकट नदिइए बागी उम्मेदवार बन्ने चेतावनी दिएका छन्। यसले उक्त क्षेत्रमा पनि बागी उम्मेदवारीको सम्भावना बढाएको छलफलमा सहभागी एक नेताले बताए।

क्षेत्र नम्बर ३ की सिफारिस भएकि भगवती चौधरी उपचारका लागि दिल्ली जानुअघि काठमाडौंमा भएको छलफलसमेत कुनै ठोस निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

एमाले सुनसरीमा देखिएको यो आन्तरिक विवादले आगामी निर्वाचनमा पार्टीको रणनीति र एकतामा चुनौती थपिने संकेत देखिएको छ।