धरान  : स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा हुने चौथो अन्डर १८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगितामा १९ टिम सहभागी हुने भएका छन्। प्रतियोगिता आगामी माघ ६ गतेदेखि ११ गतेसम्म आयोजना हुनेछ। 
उद्घाटन कार्यक्रम धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा हुने  भएको आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरू सहभागी हुनेछन्। प्रमुख सहभागीहरूमा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कलेज ए र बी, डिपो स्कुल, होलील्याण्ड इन्टरनेशनल स्कुल, क्यारेमल उच्च माध्यमिक स्कुल र विद्या भूषण स्कुल रहेका छन्।
अघिल्लो वर्ष १४ टिम सहभागी थिए भने यस वर्ष १९ टिमले सहभागिता जनाउने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।
सुवेदीले प्रतियोगितालाई कोशी प्रदेशस्तरीय बनाउने तयारी भइरहेको र आगामी वर्षहरूमा धनकुटा, इलाम र उदयपुरका विद्यालयहरू पनि सहभागी गराउने प्रयास भइरहेको बताए।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यालयबाट १२ जना खेलाडी, प्लस टु ९ कक्षा ११–१२ भएको विद्यालयबाट कक्षा १० का ६ र कक्षा ११–१२ का ६ जना खेलाडी सहभागी हुनेछन्। फाइनल खेलमा एक मिनेटमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई थ्री पोइन्ट कम्पिटिशनमा पुरस्कृत गरिने छ।

विजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिए।

प्रतियोगिता रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल सङ्घ र धरान मेघा हिमालयन कलेजले संयुक्त आयोजना गर्नेछन्। प्रतिष्ठानका अध्यक्ष रेवती रमण राईले “रेवाहाङको अधुरो सपना पूरा गर्न र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो” भने।

स्वर्गीय रेवाहाङ राई २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएका थिए। उनका अभिभावकले उनको सम्झनामा अक्षय कोष स्थापना गरी प्रतियोगिता सुरु गरेका थिए। मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले पुरस्कार राशी यस वर्ष ५ हजार बढाइएको र अक्षय कोषमा हाल दुई लाख रुपैयाँ रहेको जानकारी दिए।