इटहरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय अभियान अन्तर्गत जिल्ला शाखा सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको शत्रुताविहीन आचरण, मित्रवत् प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता विषयक नागरिक संवाद कार्यक्रममा वक्ताहरूले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्ने बताएका हुन्।
नागरिक समाजका अगुवा जगदीश ओलीले परिवर्तन, विकास र सुशासनका लागि निर्वाचनलाई समयमा नै सार्थक बनाउनु आवश्यक रहेको बताए। नेपाली काँग्रेसका प्रतिनिधि सुवेच्छुक देवान राईले विकास र सुशासन बिना नागरिक सन्तुष्ट हुन नसक्ने भएकाले सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे।
नेकपा एमालेका प्रतिनिधि काशीनाथ दंगालले मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिएको भन्दै निर्वाचनले देशलाई सही दिशातर्फ डोर्याउने बताए।
कार्यक्रम मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको प्रमुख आतिथ्यता र जिल्ला सभापति रोबनराज कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो। पहाडीले विगतका आन्दोलनका एजेन्डा कार्यान्वयन नहुँदा अहिलेको पुस्तासम्म असन्तुष्टि पुगेको उल्लेख गरे।
कार्यक्रम संयोजक ओम गौतमले विकास बिना सामाजिक न्याय सम्भव नहुने भएकाले निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा आवश्यक रहेको बताए। केन्द्रीय सभापति रेणुका पौडेलले शत्रुताविहीन आचरण र समयमै निर्वाचन गराउन दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिइन्।
लोक कवि अर्जुन पराजुलीले अनुभूति हुने काम नहुँदा देशमा बारम्बार आन्दोलन भएको बताउँदै सुधारको खाँचो औँल्याए।
कार्यक्रममा महासचिव प्रकाश शाही, लक्ष्मीनारायण मिश्र, रामप्रसाद जोशी, नम्रता खरेल, अधिकारकर्मी जयकृष्ण यादव, प्राध्यापक बोधराज नेपाल, बलराम पन्तलगायत वक्ताहरूले स्वच्छ निर्वाचन र सद्भाव प्रवर्द्धनबारे धारणा राखेका थिए।
यसैबिच, इटहरीमा स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, अधिकारकर्मी र विद्यार्थीहरूको सहभागितामा सद्भाव प्रवर्द्धन तथा हिंसा र घृणाको खारेजीका लागि र्यालीसमेत आयोजना गरिएको जनाइएको छ।


































































