धरान : नेपालमा पहिलो पटक आयोजित वुध्दिचाल पजल सोल्भिङ प्रतियोगिता सोमवार काठमाण्डाैंमा सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरे ।

एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगितामा निक्कै अनुभवी खेलाडीले मात्रै अवसर पाउने क्याटगोरी १ मा कसैले नाम दर्ता गरेन ।

कम अनुभवीको क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीको क्याटगोरी ३ मा चार घण्टा बसेर डब्लुएफसीसीले पठाएका पजल सोल्भ गरेका थिए । क्याटगोरी २ मा १२ र क्याटगोरी ३ मा ६ वटा पजल सोल्भ गर्न दिइएको थियो ।

प्रतियोगिताको क्याटगोरी २ मा ११ र क्याटगोरी ३ मा १० खेलाडीले पजल सोल्भ गरे । ६ देखि २४ वर्ष उमेरका उनीहरू ११ वटा स्कुल र कलेजबाट सहभागी भएका हुन् । क्याटगोरी २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् ।

एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूका अनुसार सोल्भ गरेको पेपर पठाएपछि डब्लुएफसीसीले जाँच गरेपछि यही हप्ता नतिजा सार्वजनिक गरिनेछ । चेस पजल सोल्भिङले खेलाडीको विश्लेषणलाई सहज बनाउँदै क्षमता अभिवृद्धि हुने गर्दछ ।

डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) २०२६ को एउटा प्रतियोगिताको रूपमा हिमालयन चेस एकेडेमीले देशमै पहिलोपल्ट काठमाडौँमा पजल सोल्भिङ कन्टेस्ट आयोजना गरेको हो ।

आईएससीको २२औँ संस्करणमा २७ देशका काठमाडौँसहित ६५ सहरमा एकसाथ आइतबार (२५ जनवरी) नौ सय बढीले प्रतिस्पर्धा गर्दैछन् । हरेक सहरमा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म हुने ४९ औँ वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुन पाउने छन् ।

chess solving 2