धरान : सुनसरी क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु माङलेनलाई सघाउन पार्टीले केन्द्रीय सदस्य तथा धरानकी पूर्व उपमेयर मञ्जु भण्डारीको संयोजकत्वमा ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

कोशी प्रदेश पूर्व सभामुख प्रदीप भण्डारी सहसंयोजक रहेको समितिको हाई कमाण्डमा विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, जयकुमार राई, प्रकाश राई, योग्य राज खड्का, लहरुमाया जिमी, सूर्यप्रकाश पन्धाक, सुशीला पहाडी ढकाल प्रदेश कमिटीका नेताहरू छन् । 
उम्मेदवार माङ्लेनको प्रतिबद्धता
धरान–१० सैनिक भवनमा मङ्गलवार भएको उम्मेदवार घोषणा कार्यक्रममा उम्मेदवार माङलेनले फागुन २१ को चुनाव देशको विकास, देशको समृद्धि हुनुपर्छ भन्ने र देशलाई तहसनहस गर्नुपर्छ भन्नेहरूबिच हुन लागेको बताए । 
उनले आफूले अहिलेसम्म भ्रष्टाचार, ठेक्कापट्टा वा कुनै पनि विवाद, काण्डमा नमुछिएकोले पनि जनताको सामुन्ने स्वच्छ छविको उम्मेदवार भनेर जान सक्ने अवस्था रहेको बताए । 
माङलेनले भने ‘मैले न भ्रष्टाचार गरे, न ठेक्कापट्टा गरे, मलाई खोट लगाउन सक्ने गरी कुनै काम गरेको छैन,सामान्यरुपमा नै जीवन अघि बढाइरहेको मान्छे हुँ, लोभलाचल केही गरिन ।’ 
उनले जनताको अपेक्षा, आशामा कदापि दायाँबायाँ नगर्ने, जनताले दिएका अमूल्य मत र मतदाताको शिर निहुरिन नदिने प्रतिबद्धता जनाउँदै उनले भने ‘टिका माङ्लेनले अहिले सम्म औला उठ्ने गरी गलत काम गरेको छैन, अब पनि कदापि गर्ने छैन ।’
२०६४ को संविधानसभा निर्वाचन बाहेक सुनसरी १ मा एमालेले सधैँ चुनाव जित्दै आएको छ । अघिल्लो चुनावमा भने जसपाका उम्मेदवार अशोककुमार राईलाई एमालेले सघाएर जिताएको थियो । 
माङलेनले आफू १७ वर्षको उमेरमा महेन्द्र बहुमुखी क्याम्पस पढ्न आएको र त्यही बेलादेखि पार्टी नेतृत्वले हालको अवस्थासम्म आइपुगेको बताए । उनले भने ‘धरान बुझेको मात्र होइन, वराहक्षेत्र र रामु धनीमा म पुगेको छ, बुझेको छुँ,।’ 
देशको भाग्य र भविष्य, युवाहरूको भविष्य र जनताको भविष्य, सर्वहारा वर्गको भविष्य एमालेमा निर्भर भएको बताउँदै उनले भने ‘एमालेले रोजगारी, सुरक्षाको कुरा एमालेले मात्र गर्छ भनेर अघि बढेको हो ।’