धरान : प्रेस सेन्टर नेपाल सुनसरीले २२ औँ स्थापना दिवस मनाएको छ।

बिहीबार प्रेस सेन्टर सुनसरीले धरान–३ स्थित कार्यालयमा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य जीवन राईले नेपाली समाजको परिवर्तनमा सञ्चार क्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।मुलुकका हरेक परिवर्तनहरूमा सञ्चार क्षेत्रको विशेष भूमिका रहेको राईले बताए ।

विशेष अतिथि चोत्लुङले मुलुकको आमूल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका बिर्सन नहुने बताएका छन् ।आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।

परिवर्तनका पक्षमा कलम चलाउँदै बलिदान दिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

सन्देशमार्फत सङ्गठनले घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा कलम चलाउन निरन्तर प्रतिबद्ध रहन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता सुनसरी अध्यक्ष तीर्थ कार्कीले गरेका थिए ।अध्यक्ष कार्कीले प्रेस सेन्टर नेपालको इतिहासबारे जानकारी दिँदै जनपक्षीय र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने उद्देश्यले २०६१ साल पुसमा रोल्पाको इरिबाङबाट संगठनात्मक यात्रा सुरु भएको बताए ।

उनका अनुसार अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ र त्यसपछि क्रान्तिकारी पत्रकार संघका रूपमा अघि बढेको संगठन २०७३ सालमा प्रेस सेन्टर नेपालका रूपमा गठन भएको थियो । २०७६ सालमा प्रेस चौतारी नेपालसँग एकता भई प्रेस संगठन नेपाल बनेको संगठन प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमसँगै विभाजन र पुनर्गठनको प्रक्रियाबाट गुज्रिएको थियो ।अन्ततः २०७८ सालमा संगठनको नाम पुनः प्रेस सेन्टर नेपाल कायम गरिएको अध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा अतिथि पत्रकार महासङ्घका पूर्व अध्यक्ष राजेश विद्रोही,निवर्तमान अध्यक्ष जनकॠषि राई, पत्रकार महासङ्घ सुनसरीका सदस्य रोहित कुलुङ राई लगायतको उपस्थिति रहेको थियो ।