धरान : नेपालभरका मेडिकल विद्यार्थीहरूको बहु विषयक राष्ट्रिय सम्मेलन "साइन्याप्स सन् २०२६" बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रवार देखि सुरु भएको छ ।
माघ २३ गतेसम्म महोत्सवको रूपमा सञ्चालन हुने सम्मेलनमा देशभरका १९ मेडिकल कलेजका विद्यार्थीहरू सहभागी छन् ।
सम्मेलन आठ वर्षपछि दोस्रो पटक भएको हो । साईन्याप्स सम्मेलनले चिकित्सा शिक्षाका विद्यार्थीहरूको पढाइका विषयको अतिरिक्त शारीरिक, मानसिक र सामाजिक विकाश, सन्तुलन र सहभागितामा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक समितिले जनाएको छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि बिपी प्रतिष्ठानका उपकुलपति डा. विक्रम श्रेष्ठले साईन्याप्स महोत्सवले चिकित्सा विद्यार्थीहरूको शैक्षिक दक्षतासँगै मानसिक स्वास्थ्य, सामाजिक समन्वय र मानवतामुखी दृष्टिकोण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
भावी चिकित्सकहरूलाई पेशागत दबाबबिच पनि सन्तुलित र संवेदनशील बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिनु उल्लेखनीय बनेको उनको भनाई थियो ।
उपकुलपति श्रेष्ठले बिपी र धरान उपमहानगरपालिकाबिच धेरै पहिलेदेखि नै सहकार्य हुँदै आए पनि निवर्तमान नगरप्रमुख हर्क साम्पाङले आवश्यकता बुझे पनि उपमहानगरपालिका र बिपीको सहकार्य पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए ।
उनले भने ’तर अवका दिनमा बिपी प्रतिष्ठान र उपमहानगरपालिकाको समग्र प्रतिष्ठा र विकासलाई अगाडि बढाउन दुवै संस्थाले हातेमालो गरेर अघि बढ्नु जरुरी छ ।"
उपकुलपति श्रेष्ठले कार्यवाहक प्रमुख बेघा को आगमनलाई स्वागत योग्य रहेको भन्दै “अब दुई संस्थाबिचको साझेदारीका लागि ‘अच्छा दिन’ सुरु भएको छ ।’ उनले बेघालाई सार्वजनिक रूपमा बिपी भ्रमणका लागि आमन्त्रण गर्दे भने "आउनुस् सहकार्य गरौँ र धरान विकास गरौँ ।”
प्रतिष्ठानका शिक्षाध्यक्ष डा सञ्जीव शर्माले साईन्याप्सले खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत विद्यार्थीहरूलाई शैक्षिक बोझबाट आवश्यक मानसिक विश्राम प्रदान गरेको बताए।
उनले स्वास्थ्यकर्मीहरूले अरूको हेरचाह गर्नुअघि आफ्नै स्वास्थ्य र तन्दुरुस्तीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भने, “मानवतासँग गरिएको उपचार नै साँचो उपचार हो भन्ने अवधारणालाई साईन्याप्सले प्राथमिकतामा राखेको छ।”
रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले साईन्याप्स महोत्सवले प्रभावकारी सञ्चार, नेतृत्व क्षमता र टिमवर्कजस्ता सामाजिक तथा अन्तर व्यक्तिगत सीप विकासमा विशेष ध्यान दिएको बताए ।
साईन्याप्स पहिलो पटक सन् २०१८ मा आयोजना गरिएको थियो। गैर–राजनीतिक तथा गैर–नाफामुखी विद्यार्थी संस्थाद्वारा आयोजना गरिएको साईन्याप्स २०२६ को मूल नारा ‘पुनर्जीवित, पुनः जोडिने र लचिलोपन’ तय गरिएको छ।
कार्यक्रम संयोजक प्रज्ज्वल खाँणले साईन्याप्स २०२६ ले देशभरका मेडिकल, डेन्टल तथा प्यारा मेडिकल विद्यार्थीहरूलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको बताए।
उनले साईन्याप्सले आपसी सम्बन्ध विस्तार,अनुभव आदान–प्रदान र सहकार्य प्रवर्द्धन गर्ने विश्वास गरिएको छ साथै, पूर्वी नेपालको चिकित्सा शिक्षा र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
महोत्सवमा चितवन मेडिकल कलेज,कलेज अफ मेडिकल साइन्सेस भरतपुर,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,काठमाडौँ विश्वविद्यालय चिकित्सा विज्ञान विद्यालय,विराट मेडिकल कलेज,नोबेल मेडिकल कलेज,स्वास्थ्य तथा सहायक विज्ञान विद्यालय, पोखरा,नेपालगन्ज मेडिकल कलेज,नेशनल मेडिकल कलेज, पर्सा, किस्ट मेडिकल कलेजका विद्यार्थीहरू सहभागी रहेका छन् ।