धरान : धरान रङ्गशालामा जारी २६औँ बुढासुब्बा गोल्डकपको  पहिलो सेमिफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले लालीगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
प्लानिङ ब्याइजले आज बुधवार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लालीगुराँस विरुद्ध जित हात पारेको हो।
खेलको छैठोैं मिनेटमा लालीगुराँसका इस्कान्दर सिद्धिकीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको १४औँ मिनेटमा प्लानिङ ब्याइजका विलियम एलेक्सले एकल प्रयासमा गोल गर्दै बराबरी फर्काए। 
यसपछि दोस्रो हाफकै ४१औँ मिनेटमा एलेक्सकै पासमा प्रताप सिंह राईले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
खेलको ‘म्यान अफ द म्याच’ प्लानिङ ब्याइजका प्रताप सिंह राई घोषित भए। उनले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
भोली हुने दोस्रो सेमिफाइनल खेल झापा ११ झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौँबिच हुने आयोजकले जानकारी दिएको छ।
प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र लालीगुराँस फुटबल क्लब पोखरा दुवै टोली पहिलो पटक बुढासुब्बा गोल्ड कप खेल्न धरान आएका हुन्।