धरान : पत्रकारितालाई आवाज विहीनहरूको आवाज पनि भन्ने गरिन्छ । अर्थात् समाजका असहायहरूप्रति ध्यानाकर्षण गराउने प्रभावकारी माध्यम सञ्चार हो । पछिल्लो समय सामाजिक सञ्जाल मार्फत गरिने नागरिक पत्रकारिताले पत्रकारहरूको यो भूमिकालाई उछिन्न खोजेको छ ।
सञ्चारकर्मीहरूकै कतिपय सामाजिक सञ्जाल मार्फत भएका कल्याणकारी कार्य यसका उदाहरण बनेका छन् । वराहक्षेत्र नडहाका पत्रकार दीपक पुरी ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता र सामाजिक सञ्जाल मार्फत गाउँका समस्याहरू उजागर गर्ने युवाका रूपमा परिचित छन् ।
धरानको स्थानीय पत्रिकाहरूमा भरौलबाट समाचार सम्प्रेषण गरी पत्रकारिता गर्दै आएका पुरी वैदेशिक रोजगारीमा मलेसिया पुगेर पनि सञ्चारकर्मलाई छोडेनन् । गाउँको सम्पर्कबाट विदेशमा पाउने खबर, समस्याहरू उनले उतैबाट पत्रपत्रिकामा सम्प्रेषण गर्दथे ।
त्यतिबेला दीपक पुरीका समाचार धरानबाट प्रकाशित ‘मर्निङ टाइम्स’ दैनिकमा प्रकाशित भएका पाइन्छन् । मलेसियामा पनि पत्रकारिता र गाउँको मायाले फेसबुकमा पनि ग्रामीण गतिविधि नियमित दिने गरेका थिए । उनका माइला दाजु विकास पुरीले बनाएको फेसबुक पेज ‘हाम्रो भरौल सुनसरी’ र ‘भरौल दर्पण’ हुँदै अहिले ‘वराह दर्पण’ नाममा सञ्चालित छ ।
सहयोगको अभियान
मलेसियाबाटै उनले पहिलो पटक गाउँको देविथान टोल सुधार समूहलाई टेन्ट, कुर्सी लगायतका सामग्री किन्ने सहयोग सङ्कलन गर्न फेसबुक मार्फत अभियान सुरु गरे । उनले करिब १ लाख २० हजार रुपैयाँ जम्मा गरी पठाएको पुरी बताउँछन् ।
त्यसयता उनले पीडितलाई सहयोग जुटाउने काम निरन्तर गर्दै आएका छन् । वराहक्षेत्र ३, नडाहाका बिचारी पुरीलाई फोक्सोको क्यान्सर रोग उपचारका लागि उनले करिब ४ लाख रुपैयाँ सङ्कलन गरे । दुर्भाग्यवश, उपचारका क्रममा उनको निधन भयो । मलेसियामा उठेको १ लाख १३ हजार रुपैयाँ भने उनले परिवारलाई हस्तान्तरण गरेको उनले बताए । 
उनका अनुसार शङ्कर पुरीको ‘वराह दर्पण’मा गरिएको पोस्टले वराहक्षेत्र–३, नडाहाका बलबहादुर राईको परिवारका लागि उनले विदेशमै रहँदा जग्गा किन्ने, घर निर्माण गर्ने र छोरीको विवाह खर्च समेतको रकम जुटाई दिए ।
विदेशबाट फर्किएपछि सक्रिय
२०७३ सालमा वैदेशिक रोजगारीबाट फर्किएका दीपक पुरी झन् सक्रिय सञ्चारकर्मी भएका छन् । २०७७ चैत १ गते वराहक्षेत्र ५ ईन्डेणीको अमरबहादुर कार्कीको कृषि फर्ममा आगलागी हुँदा घाइते भएका कार्कीको उपचार गर्न आर्थिक अभाव हुँदा फेसबुक अभियानबाटै करिब ५ लाख रकम सङ्कलन गरेका थिए । पुरीका अनुसार कार्कीको स्वास्थ्य अहिले राम्रो भएको छ ।
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी वराहक्षेत्र-५ की २८ वर्षीया कल्पना खड्काको भिडियो ‘वराह दर्पण’ सार्वजनिक भएको केही मिनेटमै देश विदेशबाट सहयोग आउन थालेको थियो । उनको उपचारका लागि करिब १६ लाख रुपैयाँ सङ्कलन भएको पुरीले बताउँछन् ।
वराहक्षेत्र-७ का ३८ वर्षीय राजकुमार कार्की कम्मरमुनि नचल्ने अवस्थामाको भिडियो र अपिलकै आधारमा करिब ३ लाख सङ्कलन भई उपचार सम्भव भएको छ । वराहक्षेत्र ७ का मिलन थापा वैदेशिक रोजगारीबाट बिरामी भएर फर्किएकोमा उनको सहयोगका लागि नगरप्रमुख रमेश कार्की समेतको आग्रहमा सुरु गरेको फेसबुक अभियानबाट करिब ८ लाख सङ्कलन भएको पुरीको भनाई छ ।नडाहाकी धनमाया पुरीलाई ब्लड क्यान्सर भएको उपचारका लागि फेसबुक अपिलबाट ४ लाख ५६ हजार ५ सय ३५ सङ्कलन भएको र उक्त रकम बिरामीका छोरा अङ्कुर पुरीलाई हस्तान्तरण गरिएको पुरीले बताए ।
पारदर्शीताको कारण सहयोग 
सञ्चारकर्मी पुरी भन्छन् ‘वराह दर्पण मार्फत गरिएको अपिलमा सहयोग आउँछ, किनभने यहाँ पारदर्शिता हुन्छ ।’ सङ्कलित रकमको हिसाब किताब र बिरामीको अवस्थाबारे नियमित जानकारी दिइन्छ । त्यसैले सबैले विश्वास गर्ने उनको भनाई छ ।
उनका अनुसार अहिलेसम्म आफ्नै पहलमा ६ जनाभन्दा बढीका लागि ठुलो रकम सङ्कलन भएका छन् । उनले भने ‘मलेसियामा हुँदा सुरु गरेको फेसबुक पेज नै आज ‘वराह दर्पण’ बनेको छ, यसले गाउँमा मात्र होइन, विदेशमा रहेका दाजुभाइलाई पनि एउटै मञ्चमा जोडेको छ ।’

Dipak Puri 2