धरान : कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, भोजपुरबाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्न पहल गर्ने कुरा आफ्नो स्थानीय प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 
नेकपा एमाले केन्द्रीय सचिव राईले मङ्गलवार प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पार्टीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य सहितका कार्यक्रम स्थानीय प्रतिबद्धता पत्रमा समेटे बताए ।
कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले गाँजाको व्यवासायीक खेतीको विषय उल्लेख गरेका हुन । पत्रमा किसानहरूका लागि ठुलो समस्याको रूपमा रहेको बाँदर आतङ्क नियन्त्रणका गरिने प्रतिबद्धता जनाइएको छ । 
उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैँची अदुवा, रुद्राक्ष, बोधिचित्त लगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने अठोट सहित प्रतिद्धतापत्रमा भनिएको छ ‘गाँजाको व्यावसायिक खेती गर्नका लागि विद्यमान कानुन संशोधन गर्ने पहल गरिने छ ।’
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुलहरू सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुलहरूको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता प्रकट गरिएको छ ।
टक्सार बजारलाई पुरानो ऐतिहासिकता झल्कने गरी  सम्पदायुक्त सुन्दर बजारको रूपमा विकास गर्ने कार्यक्रम अघि सारिएको छ ।
मध्य पहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रूपमा विकास गर्ने योजना अगाडि बढाइने छ । 
छरपस्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल समेत गर्ने समेत योजना छ । 
किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउ बिजनको उपलब्धता, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराई कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् ।
पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उनको योजना छ । 
भोजपुरको कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै “भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान“ नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गरिने छ । 
युवा लक्षित सामूहिक उद्यमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा छ । 
जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ । पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गरिने छ ।
 शिक्षक तथा सरोकारवालाहरूसँग भएको विगतका सम्झौताहरूको आधारमा नयाँ सङ्घीय शिक्षा÷विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले सार्वजनिक गरेका छन् ।