इटहरी : इटहरीमा सञ्चालित कोसी सेन्ट जेम्स माध्यमिक विद्यालयले २९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बालबालिकाको प्रतिभा अभिभावकलाई देखाउने र आपसी सद्भाव विकास गर्ने उद्देश्यले मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको हो । 
वार्षिकोत्सव समारोहमा सात सय विद्यार्थीहरू नृत्य, गीत, कविता तथा वक्तृत्वकला लगायत अन्य विधाको प्रतियोगितामा सहभागी भए । स्काउट, नाट्यकलाका प्रस्तुतिले कार्यक्रम थप रोचक बनेको थियो ।
विद्यार्थीले जीवनोपयोगी सीप, क्षमता विकास र सामाजिक चेतनालाई अभिवृद्धि गर्ने प्रस्तुति दिए । कार्यक्रमलाई रोचक बनाउन अभिभावकहरूले मम्मी डान्स मार्फत उत्साह थपिदिए । 
नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई व्यवहारिक तथा जीवनोपयोगी ज्ञान र नैतिक शिक्षा मार्फत सभ्य समाज निर्माणमा विद्यालय लागिपरेको प्रधानाध्यापक राम काला खेतीले बताए । विद्यार्थीलाई बोलेर भन्दा पनि आफै अभ्यास गर्न लगाउँदा सिकाई थप प्रभावकारी हुने उनको भनाइ छ । 
विद्यालय सञ्चालक समितिका अध्यक्ष मनु मञ्जिल साहित्य र कलाको मार्फतबाट बालबालिकामा मानवीयता र जीवन दर्शन बुझाउन खोजिएको बताउँछन् । कुनै पनि कलाप्रेमिले समाजमा असभ्य गतिविधि गर्न मात्र हैन सोच्न पनि नसक्ने हुँदा भोलीको पुस्तालाई सत्कर्मतर्फ प्रेरित गर्ने अभ्यास थालिएको उनको भनाइ छ । 
सोही अवसरमा विद्यालयमा उत्कृष्ट शिक्षण गर्ने उमेश दुलाल, मेघराज तिम्सिना, दिलीप चौधरी र नितु खड्कालाई सम्मान गरिएको हो । एक हजार दुई सय विद्यार्थी अध्ययन गर्ने कोसी सेन्ट जेम्स इटहरीको उत्कृष्ट विद्यालयको सूचीमा पर्छ ।