धरान : लिम्बु समुदायको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको स्थल विजयपुर दरबार क्षेत्र पञ्चकन्या जङ्गलमा लिम्बू समुदायका पुराना समाधि स्थल चिहान अज्ञात व्यक्ति वा समूहले भत्काएको आशंक जनाउँदै किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले आपत्ति जनाएको छ ।
चुम्लुङले बुधवार धरानमा पत्रकार सम्मेलन आयोजना गरी अज्ञात व्यक्ति समूहसँग भत्केको समाधीस्थल सम्भार गर्न आग्रह गरेको छ । चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले भने ‘ यसलाई ठुलो विवादको विषय नबनाई समाधान गरौँ भन्ने हाम्रो आग्रह हो ।’
उनले विजयपुर दरबार परिसरको मूल क्षेत्रमा रहेको सेन्ट्री तथा स्मारक आसपास करिब दुई दर्जन समाधि जेठ २ गते अवलोकनका क्रममा भत्किएको अवस्थामा फेला परेको बताए ।
अध्यक्ष मादेम्बाले भने ‘बैशाखे पूर्णिमापछि समाधिस्थलमा ढुङ्गा–माटो उखेलेर फालिएको अवस्थामा भेटिएको छ, त्यसअघि समाधि स्थल ठिक थियो, पछि मात्र भत्काइएको अवस्था देखियो, फोटो र भिडियो प्रमाण पनि छ ।’
उनका अनुसार जसले भत्काएको हो, उसैले पुनः निर्माण गरे सहज समाधान हुन्छ । अन्यता संस्कृति रूपमा समाधि स्थल तोडफोड गैर कानुनी भएकोले कानुनी उपचारमा जान्छौँ । चुम्लुङले घट्नाको जानकारी धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालयमा दिएको अध्यक्ष मादेम्बाले बताए ।
मादेम्बाले उक्त क्षेत्रमा जवेगु, थेगिम, देवाहाङ र कन्दङवा लगायत जातीय समुदायको समाधिहरु रहेको बताए । सम्बन्धित जातीय संस्थाहरूले पनि आपत्ति जनाउँदै कानुनी प्रक्रियामा जाने चेतावनी दिएको उनको भनाई छ ।
चुम्लुङले प्रारम्भिक अध्ययनमा ती समाधिहरू याक्थुङ लिम्बू समुदायसँग सम्बन्धित रहेको देखिएको जनाएको छ । करिब सय वर्ष पुराना चिहानमा प्रयोग भएका ढुङ्गा र इट्टा उखेलेर फालिएको भन्दै चुम्लुङले यसलाई संवेदनहीन, अमानवीय र असामाजिक कार्यको संज्ञा दिएको छ ।
चुम्लुङले समाधि स्थलमा अतिक्रमण गर्ने प्रयास समेत भएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ‘भत्काइएका समाधिहरू पूर्ववत् अवस्थामा संरक्षण गर्न स्थानीय सरकारसँग आग्रह गर्दछौँ, साथै मुलुकी देवानी संहिता, २०७४ अनुसार समाधि स्थल अतिक्रमण तथा क्षति गर्न निषेध गरिएकोले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कार्वाहीहरु गर्न माग गर्दछौँ ।’