इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा वडा प्रहरी कार्यालय स्थापना भएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव कुमार थेबेले कार्यालयको उद्घाटन गरेका हुन् । 
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरेलको विशेष पहल तथा सहयोगमा वडा प्रहरी कार्यालय स्थापना भएको हो । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड भएको इलाका प्रहरी कार्यालयलाई पुन निर्माण गरेर वडा प्रहरी राख्ने सहमति भएको थियो । 
वडा नम्बर ६ र ९ का वडाध्यक्ष सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यालय सुरु गरिएको छ ।
विभिन्न संस्था तथा उपमहानगरपालिकाको सहयोगमा कार्यालय स्थापना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी सुवास हमालले बताए ।
उनका अनुसार हाल प्रहरी नायव निरीक्षक (सई) होम प्रसाद खनालको नेतृत्वमा १० जना प्रहरी कार्यरत रहने भएका छन् ।
नेपाल सरकारकै दरबन्दीमा रहेको कार्यालयले इटहरीको मुख्य बजार क्षेत्रको सुरक्षाको जिम्मेवारी सम्हाल्ने भएको छ । यससँगै ब्यारेक सहित सुविधा सम्पन्न भवनबाट वडा प्रहरी कार्यालय चल्ने भएको छ ।