इटहरी : सडक सञ्जालको विस्तार सँगै अकाल मृत्युदर समेत बढ्दै गएको छ । भित्री गाउँसम्म पुगेको सडकको पहुँचले दुर्घटनाको जोखिम बढाएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले दुर्घटना बढेको देखिएको छ ।
कोशी प्रदेशका १४ जिल्लामा पछिल्लो आर्थिक वर्षमा मात्र ६ हजार ४१२ वटा सवारी दुर्घटना भए जुन गतबर्षको तुलनामा ७८६ बढी हो ।
सोही आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या ४४० थियो भने अघिल्लो वर्ष ४१८ जना मृत्यु भयो । तथ्याङ्क अनुसार एकैबर्षमा २२ जना बढीले आकालमा ज्यान गुमाएका हुन् ।
प्रदेशमा घाइते हुनेको सङ्ख्या पनि ९ हजार २४१ बाट बढेर १० हजार ६८७ पुगेको छ । एकैबर्षमा घाइतेको सङ्ख्या १ हजार ४४६ वृद्धि भएको छ । पहाडी जिल्लाहरूमा समेत सवारीको पहुँच सहज बन्दै गएपछि दुर्घटनाको दर बढ्न थालेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सङ्ख्या सबैभन्दा धेरै उदयपुरमा ५७ प्रतिशतले बढेको छ । पछिल्लो वर्ष उदयपुरमा बढेको सवारी आवागमनले दुर्घटना बढाएको हो । उदयपुरमा मदन भण्डारी राजमार्गको प्रयोग बढेसँगै दुर्घटना समेत वृद्धि भएको छ ।
राजमार्गको घुमाउरो सडकले दुर्घटनाको जोखिम बढाएको प्रहरीले जनाएको छ । पछिल्लो समय पूर्वपश्चिम राजमार्गको विकल्पमा प्रयोग हुने सो घुमाउरो सडकले दुर्घटना दर बढाएको हो । त्यससँगै भित्री सडक सञ्जालको विकास भएकाले समेत अत्यधिक दुर्घटना बढेको पाइएको हो ।
त्यसबाहेक पहाडी जिल्लाहरूमा समेत दुर्घटनाको जोखिम बढ्दै गएको छ । सबै स्थानमा ट्राफिक प्रहरीको पहुँच नभएको तथा भित्री सडकमा तीव्र गति र ट्राफिक नियम उल्लङ्घनको कारण समस्या भएको काशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक होम अधिकारीले बताए । 
सीमित श्रोत र साधनको आधारमा ट्राफिक प्रहरी परिचालित भइरहेको अवस्थामा सकेसम्म दुर्घटना हुन नदिने गरी काम भइरहेको उनको भनाइ छ । प्रहरीले राजमार्ग केन्द्रित काम गरिरहेको तर भित्री सडकमा दुर्घटना जोखिम बढेको उनले प्रस्ट पारे । लागूपदार्थ तथा मादक पदार्थ सेवनको चेकजाँचमा कडाइ गरिएको बताउँदै उनले स्थानीय सरोकारवाल निकायको सहयोगमा सचेतना अभियान चलाइएको बताए ।