धरान : इलाम जिल्लाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरी राहत तथा पुनःस्थापना कार्य तत्काल सुरु गर्न गरी विद्युत्, खानेपानी र इन्धनको आपूर्ति सहज बनाउन कोशी होटेल व्यवसायी महासङ्घको सरकारसँग आग्रह गरेको छ ।
महासङ्घद्वारा बिहीबार जारी विज्ञप्तिमा मनसुन र निरन्तरको वर्षाले इलाम प्रवेश गर्ने मेची राजमार्गको राजदुवाली सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको, वैकल्पिक मार्ग बेलासे–इलाम सडक खण्डको माइखोलामा रहेको पुल अघिल्लो वर्षको बाढीले बगाएपछि बनाइएको अस्थायी कजवे समेत यसपाली बाढीले बगाउँदा इलामको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको उल्लेख गरिएको छ।
सडक अवरुद्ध हुँदा खाद्यान्न, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति ठप्प भएको छ । विद्युत् प्रसारण र खानेपानी सेवा समेत अवरुद्ध हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बनेको उल्लेख सहित विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।
महासङ्घका महासचिव बासुदेव बरालका अनुसार यातायात अवरुद्ध भएपछि कृषकले उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन् । बिरामीले समयमै उपचार पाउने अवस्था छैन । पर्यटक आगमन शून्य प्रायः बनेपछि होटेल, पर्यटन र यातायात व्यवसाय गम्भीर सङ्कटमा परेको छ।
यसैबेला आर्थिक वर्षको अन्त्यमा बैङ्कको कर्जा असुली र घरभाडाको दबाबले व्यवसायी थप समस्यामा परेकोले महासङ्घले विज्ञप्तिमा हालको विषम परिस्थितिमा व्यवसायीलाई राहत दिन बैङ्क तथा घरधनीलाई पनि लचकता अपनाउन आग्रह गरेको छ ।






































































