धरान : कोशी प्रदेश सभा सदस्य ममता योञ्जन तामाङले गाउँ टोलमा लागुऔषध दूर्व्यर्सन नियन्त्रण, शान्ति सुरक्षाका लागि अब वडाका जनप्रतिनिधि तथा समुदायले प्रहरीसँग सहकार्य गरेर प्रभावकारी बनाउनु पर्ने बताएकी छन् ।
धरान-१६ स्थित नौलोबस्तीमा निर्मित अस्थायी प्रहरी बिटको उद्घाटन कार्यक्रममा उनले वडाका समुदायको साथ सहयोगमा वडाध्यक्ष मुरारी भट्टराईको पहलमा सुरु भएको सुरक्षा पूर्वाधार निर्माण सम्पन्न भई प्रहरीसँगको सहकार्यमा सञ्चालन भएको प्रहरी विट उदाहरणीय बनेको बताइन् ।
लागुऔषध दुर्व्यसन,अपराध तथा असुरक्षित वातावरण अन्त्य गर्न स्थानीय समुदाय, जनप्रतिनिधि र नेपाल प्रहरीबिचको संयुक्त प्रयास अपरिहार्य रहेको बताउँदै उनले भनिन् ‘जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य, सडक जस्ता जनताका आवश्यकतालाई प्राथमिकता दिएर कार्य गर्नु पर्दछ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले धरान क्षेत्रमा पछिल्लो समय लागुऔषध तथा अपराध नियन्त्रणका लागि भएका गतिविधिबारे जानकारी दिए । उनका अनुसार प्रहरीले ट्रामाडोल, डाइसाइक्लोमाइन लगायत लागुऔषध ८ हजार ३५५ क्याप्सुल बरामद गरेको बताए ।
विभिन्न मुद्दाका ६ जना फरार अभियुक्त पक्राउ गरेको तथा हत्या प्रयास सम्बन्धी घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । नियमित गस्ती तथा सुरक्षा निगरानीका क्रममा समाजमा अशान्ति फैलाउने र धारिलो हतियार बोकेर हिँड्ने २५ जनामाथि कारबाही गरिएको छ ।
धरान-१६ का वडा अध्यक्ष मुरारी भट्टराईले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार अस्थायी प्रहरी बिट स्थापना गरिएको बताए । उनले भने ‘प्रहरी चौकी सञ्चालन हुनु अघि चाडपर्वका बेला महिलाहरू निर्धक्क हिँड्न नसक्ने, दिउँसै हातहतियार बोकेर हिँड्नेहरू खोला पारि भाग्ने अवस्था थियो ।’ अहिले वडाको सुरक्षा व्यवस्था सुदृढ भएको उनको भनाई छ ।
उनका अनुसार प्रहरी विट भवन वडा कार्यालयको १० लाख रुपैयाँ बजेटबाट निर्माणको काम सुरु गरिएको थियो । करिब डेढ वर्षअघि तत्कालीन मेयर हर्क साम्पाङको विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भएको र अहिले सञ्चालनमा आएको हो ।






































































