- डोलेश्वर तिम्सिना (फडिन्द्र)
धरान उपमहानगर अचेल एउटा विचित्रको विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर सहरको आधुनिकता र विकासको चर्चा छ भने अर्कोतिर सहरको मुख्य मेरुदण्ड कोशी राजमार्गमै ‘अव्यवस्थित पार्किङ’ले कुरूप र साँघुरा बनाएको छ ।
भानुचोक, छाताचोक र लक्ष्मी चोक सम्म मात्र होइन, धरान १ पुरानो बजार देखी भित्री सडकहरूमा पनि जहाँसुकै हुने सवारी पार्किङले सडक पार्किङको लागि पनि बनेको हो भन्ने जवाब दिइरहेको जस्तो देखिन्छ ।
धरानमा कति सवारी साधन छन् ? यो तथ्याङ्क उपमहानगरपालिकामा छैन, न त यातायात कार्यालयले राखेको छ । यातायात व्यवस्था विभाग, नगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूको अनुमान अनुसार धरानमा ठुला, साना करिब डेढ लाख सवारी साधन चल्छन् ।
केही वर्ष यता धरानमा निजी सवारी साधन, विशेष गरी मोटरसाइकल र स्कुटरको सङ्ख्यामा बढेको छ । विडम्बना नगरपालिकासँग नगरमा गुड्ने सवारी साधनको यकिन र व्यवस्थित तथ्याङ्क छैन । तथ्याङ्क नहुँदा पार्किङको दीर्घकालीन व्यवस्थापन योजना तर्जुमा गर्न नगरपालिकालाई कठिनाइ भइरहेको छ ।
उपमहानगरपालिकाका वरिष्ठ कर अधिकृत खगेन्द्र प्रसाद खतिवडा भन्छन्, “नगरपालिका व्यवस्थित पार्किङका लागि प्रयासरत त छ, तर हामीसँग नगरभित्र कति सवारी छन् भन्ने यकिन डाटा छैन ।’ कुनै पनि योजना सफल बनाउन सुरुमा डाटा सङ्कलन गर्नु अनिवार्य देखिन्छ, तर अहिले तथ्याङ्क सङ्कलन र व्यवस्थापनका लागि प्रारम्भिक तयारी मात्र भइरहेको उनले बताए ।
बजार क्षेत्रमा सवारी चलाउने चालकहरू यहाँको लथालिङ्ग अवस्थाबाट आजित छन् । धरान–१६ का ट्याम्पो चालक हेमराज भुजेल भन्छन्, “उपमहानगरपालिकाले ट्याम्पो पार्किङ र स्टेन्डको व्यवस्था गरिदिए हामी शुल्क तिर्न पनि तयार छौँ ।”
धरान-८ का ट्याम्पो चालक राजकुमार राई र धरान–१५ का सन्तोष तामाङ दुवै “जथाभाबी पार्किङले ट्राफिक जाम मात्र बढाउँदैन, दुर्घटनाको जोखिम पनि बढाउँछ। शुल्क लिएर भए पनि व्यवस्थित पार्किङ बनाइनुपर्छ ।“
सफारी चालकहरू पनि सुरक्षित पार्किङको खोजीमा छन्। धरान-१५ का विक्रम लिम्बू, धरान-१७ का मनोज श्रेष्ठ र धरान-११ का नवराज मगर भन्छन्, “चालकलाई नियम मात्र लगाउने होइन, सवारी राख्ने ठाउँ पनि दिनुपर्छ। व्यवस्थित पार्किङ भवन वा खुला ठाउँ भए शुल्क तिर्न हामीलाई कुनै समस्या छैन ।“
पुतली लाइनका व्यवसायी राजन श्रेष्ठ र सब्जीमण्डीका व्यापारी विकास अग्रवालका अनुसार पार्किङको अभावले व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। श्रेष्ठले भने “ग्राहकले सवारी राख्ने ठाउँ नपाउँदा किनमेल नगरी फर्किने अवस्था छ, ।’ व्यवसायीहरू सन्तोष राई, प्रेम तामाङ र रमेश साहले धरानको व्यापारिक छवि बचाउन पनि आधुनिक पार्किङ प्रणाली आवश्यक रहेको बताए । व्यवसायी दीपक लिम्बू बहुउद्देश्यीय पार्किङ भवन निर्माणले समस्याको समाधान हुनसक्ने बताउँछन् ।
ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख अनिल मावोहाङका अनुसार धरानको ट्राफिक समस्या जटिल हुनुमा साँघुरा सडक, पार्किङ अभाव र चालकहरूको अनुशासनहीन व्यवहार मुख्य हुन्। उनी भन्छन्, “सीमित जनशक्तिले मात्र पुग्दैन, दीर्घकालीन समाधानका लागि बहुउद्देश्यीय पार्किङ भवन अनिवार्य भइसक्यो।“
यातायात व्यवसायी सरोज श्रेष्ठले अहिले सार्वजनिक सडक, राजमार्गलाई नै पार्किङस्थल बनाएर शुल्क उठाउनु उचित नहुने बताउँदै भने “नगरपालिकाले छुट्टै पार्किङ लट वा भवन निर्माण गरेर सेवा दिनुपर्छ, सडकमै शुल्क उठाउनुले व्यवसायी र यात्रुमाथि थप भार हो।“
पार्किङ व्यवस्थापन र सडक सुरक्षाकै लागि नगरपालिकाले २०८१ सालदेखि सहरका मुख्य क्षेत्रमा ‘एकतर्फी’ वान–वे सवारी आवागमन प्रणाली सुरु गरेको छ। कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघा धरानलाई व्यवस्थित बनाउने अभियानमा लागिरहेको बताउँछन्।
उनी भन्छन्, “हामी धरानलाई सुन्दर र सुरक्षित सहर बनाउन प्रयत्नशील छौँ। सडकमा हुने पार्किङले सहरको छवि बिगारेको छ। त्यसैले हामीले निश्चित ठाउँहरू पहिचान गरेर व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने र राजमार्गलाई पार्किङमुक्त बनाउने प्रयास गरिरहेको छौँ।“
कार्यवाहक प्रमुखले भने जस्तो पार्किङ व्यवस्थित बनाउन उपमहानगरपालिको गर्नुपर्ने निम्न ४ वटा काम पहिले गर्नु पर्दछ ।
१. यकिन तथ्याङ्क सङ्कलन : नगरपालिकाले सबैभन्दा पहिले नगरभित्रका सवारीको डिजिटल डाटाबेस तयार गर्नुपर्छ। यसले कुन क्षेत्रमा कस्तो पार्किङ चाहिन्छ भन्ने स्पष्ट पार्छ।
२. सार्वजनिक सवारी र पैदल यात्राको प्रवर्द्धन : निजी सवारीको प्रयोग घटाउन व्यवस्थित नगर बस सेवा सुरु गर्नुपर्छ। भानुचोकदेखि मुख्य बजारका क्षेत्रहरूमा पैदल हिँड्ने संस्कृतिको विकास गर्नुपर्छ।
३. पार्किङ शुल्क र पूर्वाधार : सडकमा पार्किङ गर्दा लाग्ने शुल्कलाई महँगो बनाउने र अफ-स्ट्रिट (सडक बाहिर) पार्किङलाई सस्तो वा व्यवस्थित बनाउने नीति लिन सकिन्छ। सङ्कलित शुल्कलाई पार्किङ भवन निर्माणमै खर्चिनुपर्छ।
४. स्मार्ट व्यवस्थापन : मोबाइल एपमार्फत पार्किङ स्पेस बुक गर्ने र शुल्क तिर्ने प्रविधिको प्रयोग गर्दा पारदर्शिता बढ्छ र जाम कम हुन्छ।
(धरान उपमहानगरपालिकाको लेखन वृत्ति कार्यक्रममा तयार गरिएको फिचर, सम्पादित अंश)





































































