धरान : पण्डित लोकनाथ लुइँटेल स्मृति प्रतिष्ठानले शनिवार आठौँ वार्षिकोत्सवमा पाँच जना विद्वानहरूलाई विद्वत सम्मान प्रदान गरेको छ । सोही अवसरमा स्वर्गीय पण्डित लोकनाथ लुइँटेल लिखित ‘सरलपूजाविधिः’ ग्रन्थ विमोचन गरिएको छ।
सम्मानित हुनेहरूमा प्राडा. माधवप्रसाद पोखरेल, प्राडा.गोविन्दराज भट्टराई, प्रा.नारायणप्रसाद शर्मा कट्टेल, प्राडा. गोपालप्रसाद भण्डारी तथा प्राडा. रमेश घिमिरे छन् ।
समारोहमा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष पुरुषोत्तम भट्टराईले टोपी र सम्मानपत्र प्रदान गरेका थिए । संस्थापक परिवारका गुरुआमा राधादेवी लुइँटेल, डा. हरिशरण लुइँटेल, सभाध्यक्ष डिल्लीप्रसाद लुइँटेल, प्राडा. गोविन्दबहादुर तुम्बाहाङ र प्राडा. टङ्कप्रसाद न्यौपानेले पुष्पमालाले दोसल्ला, माला लगाई दिएका थिए ।
प्रतिष्ठानका अध्यक्ष डिल्लीप्रसाद लुइँटेलको सभापतित्वमा भएको कार्यक्रममा डा. यज्ञेश्वर निरौला र डा. सुभाषचन्द्र न्यौपानेले सम्मानित व्यक्तित्वहरूका बारेमा प्रकाश परेका थिए ।
ग्रन्थ लोकार्पणपछि सहप्राध्यापक कृष्णप्रसाद शर्माले ग्रन्थ र ग्रन्थकारको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन भवानीप्रसाद मिश्रले गरेका थिए ।