धरान : कोशी राजमार्गको धरान-विराटनगर सडक खण्डको सेउती खोलामा नयाँ पुल निर्माण भएपछि पुल मास्तिर सवारी दुर्घटना जोखिमप्रति सचेत गराउन लिम्बु पत्रकार सङ्घले दुर्घटना जोखिम क्षेत्रको ट्राफिक सचेतना सहित सिलाम साक्माको प्रतीक स्थापना गरेको छ ।

मुन्धुम अनुसार लिम्बु संस्कारमा सिलाम साक्मालाई मानिसको मृत्यु छेक्ने यन्त्रको रूपमा मुन्धुमसावा फेदाङमाले सक्रिय बनाउँछ । सेउती पुल पश्चिम स्थापना गरिएको सिलाम साक्मा मङ्गलवार साँझ मनकुमार लाबुङ सहित फेदाङ्माद्वयले विधिवत् मुन्धुम फलाकेर सक्रिय गराए ।

गतः महिना सोही क्षेत्रमा सङ्घका सुनसरी जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बु मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए । उनका अनुसार नयाँ पुला सञ्चालनमा आएपछि त्यहाँ आधा दर्जन साना ठुला दुर्घटना भैसकेको छ । बढ्दो सवारी दुर्घटनाप्रति ट्राफिक सचेतना बढाउन सिलाम साक्मा राखिएको उनले बताए ।

फलामको रङ्गिन सिलाम साक्मा सङ्घका केन्द्रीय सल्लाहकार मोहनकुमार हुक्पाचोङको संयोजनमा स्थापना गरिएको हो । उनका अनुसार सिलाम साक्मा स्थापना गर्न १६ हजार रूपमा खर्च भएको छ । हुक्पाचोङबाङले भने ‘सिलाम साक्माले सेउती पूल नजिक पुग्दा सवारी चालकलाई ट्राफिक सचेतना दिने विश्वास गरेका छौँ ।’