इटहरी : ‘लेटाङ्ग नगरको आधार कृषि र पर्यटन सहितको पूर्वाधार’ । यो नारा लेटाङ्ग नगरपालिकाले आफ्नो प्राथमिकतामा कृषिलाई पहिलो स्थान दिएको छ । नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको कृषि गर्ने जनता अर्थात् किसान भने लगाएको बालिलाई कसरी बचाउने भन्ने तनावमा छन् ।

नगरपालिका भित्र सर्लक्क बढेका मकैका बोट धुजाधुजा हुन थालेका छन् । केही दिन अगाडीसम्म सप्रेर आएका बिरुवा एक्कासि सुक्न थाले । बर्सेनि उत्पादन घट्नै गएको मकै यो पटका पनि किसानहरू लाई उत्पादन बढ्छ भन्ने कुरामा विश्वास छैन ।

त्यसमध्येका एक हुन लेटाङ्ग नगरपालिकाका २ का नन्दप्रसाद सुवेदी । केही वर्ष अगाडी १० मन सम्म मकै फलाएका उनी पछिल्लो समय देखा परेको अमेरिकन फौजी किराको कारण उत्पादन घटेको बताउँछन् । बर्सेनि बढ्दै गइरहेको फौजी किराको समस्याले आफूहरू आजित भएको उनको दुखेसो छ ।

Fauji-Kira-1

उनी जस्तै उत्तरी मोरङका अधिकांश किसानको समस्या त्यस्तै छ । फौजी किरामा लगाउने विषादी तथा ज्ञानको अभावमा कृषकहरू अन्योलमा परेका छन् । विषादी प्रयोग गरेपछि किराहरू नष्ट भए पनि बारीको घाँस काट्न नमिल्ने हल्लाको कारण उनी झनै चिन्तित छन् ।

बर्सेनि उत्पादन घट्दै जाँदा आफ्नो पेसा माथि निराशा बढ्दै गएको उनी बताउँछन् । मकैमा मात्र हैन धानको उत्पादन पनि त्यसै गरी गिरावट आएको उनीहरू सुनाउँछन् ।

सुवेदीको जस्तै समस्यामा छिन् सोही गाउँकी मनकुमारी श्रेष्ठ । अघिल्लो वर्ष ४५ मुरी धान उत्पादन गरेकी उनले यस पटक २७ मुरी मात्र थन्क्याएको बताइन् । धान रोपेको महिना दिन देखी देखा परेको फौजी किराको कारण धान उत्पादन घटेको उनी बताउँछिन् । स्थानीय कृषि पसलमा गएर औषधि ल्याएर छर्केको भए पनि खासै प्रभावकारी नभएको उनको गुनासो छ ।

बर्सेनि प्रकोपको रूपमा देखिने फौजी किरा नियन्त्रण नहुने भएपछि पछिल्लो समय कृषकले वास्ता गर्न छाडेका छन् । केही वर्षअगाडि राम्ररी नै मकै उत्पादन हुने गरेको बताउने खेम बराल यस पटक सबै मकै गाईभैसीलाई खुवाउने तयारीमा छन् । मकै बारीको घाँस काट्न नमिल्ने र मकैको बोट नै विषादीयुक्त हुने हल्लाले उनले बलैमा घाँसको रूपमा प्रयोग गर्न लागेका हुन् ।

आफूहरूलाई विषादी कसरी छर्किने र कुन विषादी लगाउँदा उपयुक्त हुन्छ भन्ने बारे कुनै ज्ञान नभएको उनीहरू बताउँछन् । कृषकसँगै अहिले पनि विषादी छर्कँदा लगाउने उपकरण छैन । विषादी नाक, कान, मुख, आँखा र छालाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने हुँदा त्यसले निम्त्याउने जोखिम बारे उनीहरू अनभिज्ञ छन् ।

त्यतीमात्र हैन कुन विषादी कसरी प्रयोग गर्ने र त्यसको असर कहिलेसम्म हुन्छ भन्नेबारे अझैसम्म ठोस जानकारी पाउन नसकेको कृषकहरू बताउँछन् ।

समस्या यतीमै सीमित छैन । पर्याप्त मल बिउको अभावमा खेत बाजै छाड्नुपर्ने अवस्था आएको छ । रसायनीक मल प्रयोग नगरी अन्नबाली उत्पादन हुन छाडेपछि उनीहरू त्यसैको भर पर्ने गरेका छन् । तर पछिल्लो समयको लकडाउनको कारण गाउँसम्म मल पुग्न नसक्दा समस्या परी सकेको उनीहरू बताउँछन् ।

उता लेटाङ्ग नगरपालिकाका मेयर शङ्कर राई आफूहरूले सक्दो पहल गरिरहेको बताउँछन् । नगरपालिकाको तर्फबाट कृषि प्राविधिकको टोली नै परिचालन गरिएको उनले बताए । सो नगरपालिकाले कृषिलाई मूल नारा लिए पनि नगर भित्रका किसानहरू भने कृषि पेसाको विकल्प सोच्न बाध्य भइरहेका छन् ।

fauji-kira-2-letangFauji-Kira-2Fauji-Kira