प्रकाशपुर : बराहक्षेत्र नगरपालिकाले आफ्नो क्षेत्र भित्र कोरोना संक्रमण भएको भन्दै आफ्नो दुई वडा सिल गरेको छ । बराहक्षेत्र ११ मधुवन छेउमा रहेको एक सशस्त्र प्रहरी पोस्टका सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि आफ्नो वडाहरू सिल गरेको हो ।

संक्रमित देखियो भन्दै दुई ओटा वडा सिल गरेको नगरपालिकामा संक्रमितको सम्पर्कमा आएकाहरूलाई राख्ने एउटा पनि क्वारेन्टाइन छैन । बराहक्षेत्र १० र ११ अर्थात् प्रकाशपुर र मधुवनका स्थानीयहरू कोरोना पुष्टि भएका सुरक्षाकर्मी सम्पर्कमा आएको भन्दै नगरपालिका सिल गरिएको हो ।

कोरोना संक्रमित सँग सम्पर्कमा आएको भन्दै सिल गरेको नगरपालिकाले अहिलेसम्म संक्रमित सँग सम्पर्कमा आएकाहरूलाई राख्ने एउटा पनि गतिलो क्वारेन्टाइन बनाएको छैन ।

मङ्गलवार मधुवन छेउमा रहेको कोसी प्रोजेक्टमा अन्तर्गतको भारतीय कार्यालयमा सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित सुरक्षाकर्मी गस्तीको क्रममा कोशीटप्पु अर्थात् बराहक्षेत्र ९ र १० तिर आउने गर्दथे । प्रकाशपुरमा समेत आफन्त रहेकोले प्रकाशपुरपनि आउने खुलेको छ । तर अहिले सम्म संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरेर नगरपालिकाले क्वारेन्टाइनमा राख्न सकेको छैन ।

हुन त नगरपालिकाले क्वारेन्टाइन बनाउने निर्णय समेत नगरेको भने हैन । उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिनु अगाडी नै नगर क्षेत्रभित्रको ५ ठाउँमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

तर नगरपालिकाको निर्णय माइन्युट किताबमा मात्र सीमित भएको छ । तत्कालीन निर्णय अनुसार मधुवन, प्रकाशपुर,चक्रघट्टी, भरौल र चतरामा क्वारेन्टाइन बनाउने भएको थियो । धेरै ठाउँमा क्वारेन्टाइन बनाउने भए पनि नगरपालिकाले आफ्नो कार्यालय परिसरमा नामको बाहेक क्वारेन्टाइन बनाएको छैन ।

'धेरै ठाउँमा बनाउने निर्णय अगाडी नै भएको हो, मैले धेरै ठाउँ भन्दा पनि एक ठाउँ मापदण्ड पुगेको क्वारेन्टाइन बनाउने प्रस्ताव लिएर गए' वडा नम्बर ९ का वडाध्यक्ष दीपक लिम्बुले भने ' सबैलाई आआफ्नो ठाउँमा लाग्ने हिसाबले निर्णय भयो तर कतै पनि क्वारेन्टाइन बन्न सकेन ।'

नगरपालिकाले धेरै ठाउँ क्वारेन्टाइन बनाउने निर्णय गर्नु नै एउटा पनि मापदण्डको क्वारेन्टाइन निर्माण नहुनुको प्रमुख कारक अन्य वडाध्यक्षहरू पनि बताउँछन् ।

'सबैलाई आफ्नो छेउछाउमा क्वारेन्टाइन चाहियो तर कसैले सरकारले जारी गरेको मापदण्ड हेरेनन्, त्यसैले अहिले कोरोना संक्रमित सँग सम्पर्कमा आएकालाई घर मै राख्नुको विकल्प छैन ।'

बराहक्षेत्र अहिले मात्र हैन पहिले देखिनै कोरोना संक्रमणको जोखिममा थियो । उदयपुरमा कोरोना फैलिएको बेला सुनसरि छिर्ने प्रमुख बाटो बराहक्षेत्र नै थियो । बराहक्षेत्रमात्र उदयपुर सँग सीमा जोडिएको पालिका थियो ।

उदयपुर मात्र हैन कोसी प्रोजेक्टको काम सञ्चालन हुने ठाउपनि बराहक्षेत्र हो । अर्थात् भारतीयहरूको चहलपहल समेत यहाँ उल्लेख्य हुन्छ । कोरोनाको 'हटस्पस्ट' बन्ने ठुलो जोखिम बराहक्षेत्रमा पनि छ ।

नगरपालिकाले अझै पनि भने राहत भन्दा पर गएर सोच्न अझै पनि नसकेको देखिन्छ । केही दिन अगाडिको टेलिभिजन अन्तर्वार्तामा मेयर निलम खनालले स्वास्थ्य चौकीको विषयमा 'ग्राउन्ड रियालिटी' थाहा नपाएका पत्रकारलाई आफ्नो क्षेत्रभित्र राम्रो स्वास्थ्य व्यवस्था भएको आश्वस्त पारेका थिए ।

स्थानीय स्वास्थ्यचौकीहरुलाई कोरोना सँग जोडेर अझै पनि जनप्रतिनिधिहरू जनतालाई आश्वस्त पार्न खोजिरहेका छन् । तर मेयर र अन्य जनप्रतिनिधीहरुले सोचेको जस्तो सहज अवस्था बराहक्षेत्रमा छैन ।