धरान : धरान १३ की कोरोना सङ्क्रमितलाई कोरोना पुष्टि भएको १८ घण्टा पछि अस्पताल लगिएको छ ।
सुनसरी जिल्ला भरी सञ्चालनमा रहेका कुनै पनि एम्बुलेन्सले सङ्क्रमित बिरामी बोक्न नमानेपछि अहिले केही बेर अघि मात्रै नेपाल रेडक्रस सोसाइटी सुनसरीको को १ च ९२२१ नम्बर को एम्बुलेन्सले सङ्क्रमित बिरामीलाई वीपी प्रतिष्ठान लगेको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।
वडाबासी आक्रोशित :
धरान १३ की कोरोना सङ्क्रमितलाई एम्बुलेन्स नपाएर अझै घरमै राख्नु परेको भन्दै १३ नम्बर वडा बासी आक्रोशित भएका छन् ।
धरान १३ का सामाजिक अभियन्ता गौतम श्रेष्ठले धरान उपमहानगरपालिका जस्तो ठाउँमा यसरी दुई दिन सम्म सङ्क्रमितलाई घरमै रुगेर बस्नु दुखद भएको बताउँदै अव लकडाउन होइन, सबै खोले हुन्छ सङ्क्रमित घरमै राखेर जडीबुटी खुवाएर निको बनाउँछौ भन्दै आक्रोश पोखेका छन् । बुधवार साँझ ५ बजे नै कोरोना सङ्क्रमित पुष्टि भएर पनि धरान उपमहानगरपालिकाको विकट र दुर्गम गाउँमा होइन कोसी राजमार्गकै किनारामा भेटिएको सङ्क्रमितलाई नजिकै रहेको अस्पताल लान समस्या हुन्छ भने यो कस्तो व्यवस्थापन हो ? गौतम श्रेष्ठले भने । उनी भन्छन् अव धरानमा राहत वितरण ठुलो कुरो होइन यदि एक जना होइन दिनमै धरानमा धेरै जना सङ्क्रमित भेटिए भने के बिरामी हिडाउदै अस्पताल लानु ?
सुनसरी जिल्लाभरी ७२ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । तर पनि एम्बुलेन्सले कोरोना सङ्क्रमित बोक्न नमान्नु दु:खद हो । केही दिन अघि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले हरेक पालिकामा एउटा डेलिकेटेड कोरोना सङ्क्रमित बिरामी मात्रै बोक्ने एम्बुलेन्स तयारी राख्नुपर्ने निर्णय भएको थियो तर त्यो निर्णयको कार्यान्वयन नभएको प्रमुख प्रसाईँले बताए ।
यसै गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारीले धरानमा कोरोना सङ्क्रमितलाई अहिले सम्म अस्पताल नलगेको बारेमा आफूलाई जानकारी नभएको बताए । आफ्नो संयोजकत्वमा रहेको समितिले हरेक पालिकाले अनिवार्य कोरोना सङ्क्रमित मात्रै बोक्ने डेलिकेटेड एम्बुलेन्स राख्नुपर्ने निर्णय भए पनि कार्यान्वयनमा नआउँदा समस्या भएको हुनसक्ने बताए ।
धरानमा एम्बुलेन्स सञ्चालकहरूसँग आकस्मिक बैठक
धरान उपमहानगरपालिकाको १३ नम्बरकी सङ्क्रमितलाई धरानका कुनै पनि एम्बुलेन्सले बोक्न नमानेको विषयमा धरान उपमहानगरपालिकामा अहिले आकस्मिक बैठक बसिरहेको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































