धनकुटा : कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका प्रहरीलाई युवा सङ्घ नेपालका केन्द्रीय सदस्य तथा धनकुटाका निर्माण व्यवसायी बलदीप राईले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

राईले जिल्ला प्रहरी कार्यालय धनकुटालाई ५ सय थान सर्जिकल मास्क र १ सय १२ थान हेण्ड स्यानिटाइजर, भेडेटार प्रहरी चौकीलाई १ सय २० थान सर्जिकल मास्क र २४ थान हेण्ड स्यानिटाइजर र हिले प्रहरी चौकीलाई ५० थान सर्जिकल मास्क र १३ थान हेण्ड स्यानिटाइजर हस्तान्तरण गरेका हुन ।

उनले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपङ्क्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा प्रहरी खटिएको बताउँदै बिषम् परिस्थितिमा प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षाले हस्तान्तरण गरिएको बताए ।

प्रहरी चौकी भेडेटारका इन्चार्ज यदु ढकालले महामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने प्रहरीलाई सङ्क्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने गरी स्वास्थ्य सामग्री आएको बताए । राईले यसअघि लकडाउनका कारण काममा जान नसकेका धनकुटाको जोरपाटी, सिधुवा र चित्रे बजारका विपन्न मजदुरलाई खाद्यान्न समेत वितरण गरेका थिए ।