धरान : पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

थपिएकामा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ९८ पुगेको छ ।

नयाँ सङ्क्रमितमा झापाका २ जना, दैलेखका ५८ जना, नवलपरासी पूर्वका ३ जना, जुम्लाका १९ जना, सुर्खेतका ५ जना, कपिलवस्तुका ४० जना, सल्यानका १० जना, रौतहटका १८ जना, बाँकेका ७ जना र धनुषाका ७ जना रहेका छन् ।

त्यस्तै दाङका ९ जना, महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीका ३८ जना, सिरहाका ५ जना, उदयपुरका १ जना, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १ र कञ्चनपुरका १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न आइसोलेसनमा रहेकाहरूको सङ्ख्या १ हजार ५ सय ६९ रहेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या २ सय २१ र मृत्यु हुनेको सङ्ख्या ८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।