विराटनगर : प्रदेश नं. १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकार परिषद्ले सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री मुख्यमन्त्री राईलाई परिषद्का प्रदेश १ कोअर्डिनेटर मुकेश उपाध्यायले हस्तान्तरण गर्नुभएको हो । करिब ७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्राप्त भएको स्वास्थ्य सामाग्रीमा पिसिआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स-रे पोर्टेबल मेसिन १ थान रहेका छन् । त्यस्तै आरडिटी किट १० हजार, भिटिएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पिपिइ ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल मास्क २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २५ सय, आइ आर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेसिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ ।

यी उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरूले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रूपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताएका छन् । हामी प्रदेशका धेरै भन्दा धेरै नागरिकहरूको कोरोना परीक्षणमा छौँ, प्राप्त भएका सामाग्रीहरूले थप सहयोग पुगेको मुख्यमन्त्रीको भनाई छ । साथै सामाग्री उपलब्ध गराएको तिब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवाद समेत दिएका छन् ।