धरान : रौतहटको चन्द्रपुर नगरपालिका स्थित घाघी खोलाबाट चितामा जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोस्टमार्टम नगरी झुन्डिएको शव चितामा राखी जलाउन लागेको सूचना पाएपछि महिलाको हत्या आशङ्कामा खोलाबाट भाग्दै गरेका श्रीमानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

चन्द्रपुर नगरपालिकी १० की २६ बर्षिया सुस्मा कुमारी पण्डित बुधवार बिहान ३ बजे घरमा नै झुन्डिएर आत्महत्या गरेको ७ बजे प्रहरीलाई खबर पुगेको थियो । प्रहरी घटना स्थल नपुग्दै कानुन विपरीत बालचनपुर स्थित घाघी खोलामा चितामा जलाउन लागेको अवस्थामा सुस्माको शव प्रहरीले नियन्त्रणमा लिएको हो । शङ्कास्पद अवस्थामा शव जलाउने क्रममा प्रहरी पुगेपछि भाग्दै गरेका मृतकका ३१ वर्षका श्रीमान् मुकेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।

सुस्माका ३ सन्तान रहेको र घरका अन्य सदस्यहरू फरार रहेको प्रहरीले जानकारी दिएको छ । माइती पक्षलाई जानकारी नै नदिएर दाहसंस्कार गर्न लागेको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । छिमेकीहरूका अनुसार राति सुस्माको घरमा ठुलो झगडा भएको बताउँछन् ।

आत्महत्याको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ । शव नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान भइरहेको पोस्टमार्टम गर्नका लागि शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखेको र माइती पक्षलाई जानकारी दिएको डिएसपी शाहीले बताए ।