फ्रान्समा दोस्रो विश्वयुद्धपछि सर्वाधिक समय बन्द भएको विश्वप्रसिद्ध आईफल टावर फेरि खुलेको छ।

कोरोनाभाइरस लकडाउनका कारण उक्त विश्वप्रसिद्ध स्थान तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। अहिले प्यारिसस्थित उक्त स्थान सीमित रूपमा सञ्चालनमा ल्याइएको छ।

त्यहाँ सीमित सङ्ख्यामा मात्र आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ।  दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउनेछैनन्।

जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ। सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन्।

तीमध्ये तीनचौथाइ व्यक्ति विदेश पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ।