धरान: जापानमा भारी बर्षापछी आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । नौ जना हराइरहेका छन् ।  जापानको क्युसु द्धीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ ।

यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले देशमा आएको बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै सबै नागरिकहरुलाई सचेत रहन अपील गरेका छन । बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेका छन् ।

सयौंको संख्यामा सवारीसाधनहरु पुरिएका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ । जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी जारी राखेको छ । बिजुली आपूर्ती बन्द हुँदा जापानका अधिकांश शहर अन्धरकारमय भएको छ ।