इटहरी : असारे विकासले जनतामा सास्ती परेको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरहरैचाको बाँसबारीमा बर्खाको मौसममा सडक मर्मत हुँदा आवत जावतमा समस्या हुने गरेको छ । त्यसको प्रत्यक्ष मारमा दैनिक आवत जावत गर्ने यात्रुहरू पर्ने गरेका छन् ।

गछियाबाट इटहरी कार्यालय आउने यात्रु विकास कार्की समयमै सडक मर्मत नहुँदा समस्या भएको बताउँछन् । अघिल्लो बर्षमात्र ओभर ल्यापीङ्ग गरेको सडक भत्किएपछि अहिले पुन: मर्मतको काम भइरहेको छ । गत वर्षको असारे बजेटमा बनेको सडक भत्किएपछि पुन: मर्मतको काम सुरु भएको हो ।

मर्मत हुन नपाई भत्किएको सडक लामो समय मर्मत नहुँदा यात्रुहरू समस्यामा परेको कार्कीको भनाई छ ।
कार्की जस्तै दैनिक यात्रा गर्ने यात्रुहरू हिलो र धुलोको मारमा पर्ने गरेका छन् । पानी परेको बेला गाडी भासिने र लामो समय अबर पर्ने गरेको उनीहरूको अनुभव छ ।

उता सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञवाली आफू भर्खरै मात्र आएकोले आउने बित्तिकै काम सुरु गरेको बताए । उनका अनुसार टेन्डर प्रक्रियाको लागी लामो समय लागेकोले काम ढिलो सुरु भएको हो । एकै पटक धेरै ठाउँमा काम गर्नुपर्ने भएकोले यस्तो समस्या सृजना भएको उनको भनाई छ ।