धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ बेसिन्दा गाउँमा पहिरो गएर ११ जना बेपत्ता भएको दुई दिन बित्दा समेत सङ्घीय तथा प्रदेश सरकारको ध्यान नपुगेको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङ्ले बताए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट पश्चिम, सोलुको पूर्व, भोजपुरको उत्तर अरुण पारीको गाउँ सिलिचोङको बेसिन्दामा हिजो आइतबार बिहान पहिरोले बेसिन्दा गाउँको ९ घर बगायो । घर सँगै ११ जना बेपत्ता भएका छन् । तर अहिले सम्म न त १ नम्बर प्रदेश सरकार न त सङ्घीय सरकारको नै उपस्थिति रहेको छ ।

सदरमुकामबाट खटिएका नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी बाहेक गाउँले स्थानीयले पहिरोग्रस्त क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य गरी रहेका छन् । तर सिलिचोङ गाउँपालिकाका अध्यक्षलाई कुनै सरकारको प्रतिनिधिले एक कल फोन पनि गरेका छैनन् । उनी भन्छन् “दुर्गमको पिडा पनि दुर्गम नै हुदोरहेछ । यदि मन्त्रीको निर्वाचन क्षेत्र भएको भए यति बेला हेलिकोप्टर मार्फत प्रदेश र सङ्घीय सरकारका मन्त्री र राहत सबै एकै पटक आउने थियो ।”

बेसिन्दा गाउँमा ३७ घरधुरी मध्ये ९ घरको त नामो निशाना छैन । त्यही घरमा रहेका ११ जना बेपत्ता भएका छन् । हामी खोज्दै छौ घटनास्थलबाट सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले कपुरी न्युजलाई भने ।

बेसिन्दा गाउँका र पहिरो झरेर पुरिएको तल्लो गाउँका गरी थुप्रै जना विस्थापित भएका छन् एक्किन डाटा अहिले सम्म सङ्कलन हुन नसकेको बताउँदै अध्यक्ष कुलुङले भने “स्थानीय सरकारको केही लागेन प्रदेश र सङ्घीय सरकार पनि पहिरो ग्रस्त क्षेत्रमा आउनुपर्‍यो ।”

प्रदेश नं. १ मा यो बर्षकै सबैभन्दा ठुलो पहिरोले क्षति पुर्‍याएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बेसिन्दा गाउँमा सो क्षेत्रका माननीयहरू जानका लागि काठमाण्डौमा हेलिकोप्टर कुरी रहेको बाहेक अरू जानकारी अध्यक्षलाई आएको छैन । भोजपुरको हतुवागढी गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिदा हेलिकोप्टरमा मन्त्री र दलबल सहित हतुवागढी पुगेका प्रदेश नं. १ का मुख्य मन्त्री सेरधन राईले पनि यो घटनाको बारेमा ध्यान चासो नदिएको हो की भन्ने बेसिन्दा गाउँका पहिरो पीडितहरूको दुखेसो छ ।

पहिरो गएको यत्तिका समय बित्दा समेत सङ्खुवासभाकै प्रमुख जिल्ला अधिकारी हेलिकोप्टर कुरेर सदरमुकाममै बसेका छन् । उनी समेत घटना स्थलमा पुगेका छैनन् । हिजो जिल्लाबाट खटिएका संयुक्त सुरक्षा टोली भने घटना स्थलमा पुगेर उद्धार तथा खोजीमा लागिरहेको बताइएको छ ।