इटहरी : लकडाउनमा धेरै व्यापार व्यवसायीहरू समस्या परेको अवस्थामा अर्ग्यानिक ग्रिन टी ले भने व्यापार गर्ने अवसर पाएको छ । इटहरी ४ बगौंचा टोलमा सञ्चालित ग्रिन टी पसलका सञ्चालक ट्यानसिंह तामाङ लकडाउन फाइदाजनक रुपमा ब्यतीत भएको बताउँछन् ।

तामाङका अनुसार लकडाउनको समयमा घरैमा बस्दा पेट लागेको र ग्रिन टी खाएर पेट घटाउन आउनेहरू उनको पसलमा बढेका छन् । त्यस्तै तातोपानी पिउँदा कोरोना सङ्क्रमण नहुने भन्ने बुझाइले समेत ग्रिन टिको कारोबार बढेको उनको भनाइ छ ।

१ वर्ष देखी सञ्चालन गर्दा खासै चल्ने सङ्केत नदेखेका उनले लकडाउनको समयमा भने राम्रो कारोबार गरेको सुनाए । 

इलामको श्री अन्तुमा पुगेर ग्रिन टी बारे बुझेपछि  स्वास्थ्य र व्यापारको दुवैको लागी फाइदाजनक हुने भएपछि व्यापार सुर गरेको तामाङ बताउँछन् । 'अपरिचित मानिस सँग पनि परिचित हुने भयो , सबैसँग चिनजान बढ्ने माध्यम भएको छ ' उनी हाँस्दै भन्छन्, ग्रिन टी मा एन्टी अक्सिडेन्ट पाइने भएकोले धेरै फाइदाजनक लागेको छ । अहिले त खुब कारोबार बढ्दै छ ।
हाल उनकोमा ह्वाइट टी, गोल्डेन टी, ग्रिन टी र ब्याक स्पेशन टी पाइन्छ । ह्वाईट र गोल्डेन टी  केहि महँगो हुने भएकोले विदेश तिर निर्यात गर्ने गरेका छन् ।