धरान : धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्कले गत बुधबार ३ स्थानीय तहमा रहेका कोरोना राहत कोषमा सहयाेग रकम प्रदान गरेको छ ।

बैङ्कले मोरङको  सुन्दरहरैंचा नगरपालिकालाइ १ लाख, कानेपोखरी गाउँपालिकालाई ५० हजार र सुनसरीको बराहक्षेत्र नगरपालिलाइ १ लाख रकम प्रदान गरेका हो । बैङ्क सञ्चालक समितिका अध्यक्ष किशन मास्के, प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्ती र बैङ्कका कर्मचारीको उपस्थितमा उक्त रकम बराबरको चेक प्रदान गरेका हो ।

कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रान्त भएको स्थितिमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय तहलाई रकम प्रदान गरेको अध्यक्ष मास्केले बताए । देशमा यस्ता किसिमको संकट आएको बेलामा मितेरी बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको हुदा बैङ्कले प्रदान गरेको सानो सहयोगले विपन्न तथा दैनिक जीविकोपार्जनमा समस्या भएकाहरूलाई थोरै भए पनि मद्दत पुग्ने प्रमुख कार्यकारी अधिकृत वस्तीले बताए ।

रकम प्राप्त गरेपछि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, सुन्दरहरैंचाकी उपप्रमुख धनमाया तामाङ र वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बैङ्कले सहयोग गरेकोमा धन्यवाद दिए ।

यस बैङ्कले प्रदेश १ सरकारकाे काेषमा ५ लाख रुपैयाँ र धरान उपमहानगरपालिकालाई २ लाख रुपैयाँ सहयाेग रकम प्रदान गरेको थियो ।