धरान : धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएकालाई बोक्नका लागि एउटा डेडिकेटेड शव वाहन तयारी अवस्थामा राखिने भएको छ ।

कोरोना सङ्क्रमित बिरामी बोक्ने एम्बुलेन्स र सङ्क्रमणबाट मृत्यु भएका मृतक बोक्ने शव वाहन व्यवस्थापनका लागि आज धरान उपमहानगरपालिकामा एम्बुलेन्स चालक समितिका पदाधिकारीहरू सँग बसेको बैठकले सो निर्णय गरेको हो ।

यस भन्दा अघि धरान उपमहानगरपालिकामा कोरोना संक्रमित बिरामीलाई अस्पताल सम्म लानका लागि ४ वटा डेडिकेटेड एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो । ती ४ वटा एम्बुलेन्स मध्ये एम्बुलेन्स चालक सङ्घबाट २ वटा, नेपाल रेडक्रस सोसाइटीबाट १ वटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ वटा गरी जम्मा ४ वटा एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भएकोमा आजको बैठकले एम्बुलेन्स चालक सङ्घबाट २ वटा मध्ये १ वटा एम्बुलेन्स घटाइएको छ । अव धरान उपमहानगरपालिकामा ३ वटा मात्रै डेडिकेटेड एम्बुलेन्स हुने भएका छन् ।

एम्बुलेन्स चालक समितिबाटै एउटा डेडिकेटेड कोरोना सङ्क्रमणबाट मृत्यु भएका मृतक बोक्ने शव वाहन तयारी अवस्थामा राख्ने निर्णय भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए । शव वाहनको सवालमा पनि भैपरि आएको अवस्थामा डेडिकेटेड शव बहानले मृतक बोक्ने र पहिला एम्बुलेन्समा लागु गरिएको जसरी १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने र तलब भत्ताको व्यवस्था गर्ने निर्णय भएको छ । शव वाहन र एम्बुलेन्सको खर्च धरान उपमहानगरपालिकाको समन्वयमा प्रदेश सरकारले उपलब्ध गराउने बताइएको छ ।

मोरङको सुनबर्षी नगरपालिकाका एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुँदा शव बोक्ने शव वाहन नहुँदा मृत्यु भएको भोलि पल्ट सम्म पनि आइसोलेसन वार्डबाट शव उठाइएको थिएन । यस्तो समस्या नहोस् भनेर धरान उपमहानगरपालिकाले आज यस्तो निर्णय गरेको हो ।

डेडिकेटेड शव वाहनले धरान भित्रका मात्रै नभएर धरान बाहिरको पनि शव बोक्न सक्ने छ । दुरी र निर्धारण गरिएको भाडा दर भने प्रदेश सरकारले बेहोर्ने बताइएको छ ।