धरान : मोरङबाट विश्वकै महँगो लागुऔषध 'आइस ड्रग्स ' कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका-८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल छन् ।

उनको साथबाट बरामद भएको यो लागुऔषध विश्वमा अत्यधिक माग रहेको र महँगो मध्येमा पर्ने मेथान्टामाइन आइस नामक भएको प्रहरीले जनाएको छ ।

यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ । पक्राउ परेका पोखरेलले यही लागुऔषधको कारोबार गर्नका लागि अरू मुलुकमा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्राम भन्दा बढी) लागुऔषध पोखरेलबाट बरामद गरेको जानकारी दिए । नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गरेका थिए । कोही व्यक्तिलाई लागुऔषध पुर्याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागुऔषधका कारोबारी पोखरेल उच्च घरनाका व्यवसायी रहेको प्रहरी स्रोतले बतायो ।

एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिए । ‘यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको यस अघि कुनै घटना प्रदेशमा छैन,’ उनले भने, ‘यस घटनाले दुर्व्यसनीले सबैभन्दा बढी रुचाएको र अत्यधिक महँगो लागुऔषधको कारोबार यहाँ पनि हुन थालेको पुष्टि भएको छ ।’

मोरङ प्रहरीले यस घटनालाई विस्तृतमा पछि सार्वजनिक गरिने जनाएको छ ।