धरान : धरानमा कोरोनाको मास स्याम्पलीङ मूल्याङ्कनका लागि धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा रेनडोम मास टेस्टिङ समन्वय समिति गठन भएको छ ।

यो समितिमा उपमेयर, धरान उपमहानगरपालिकाको प्रशासनबाट १ जना, स्वास्थ्य महाशाखाबाट १ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनबाट ४ जना, प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागबाट १ जना, इलाका प्रहरी कार्यालयका प्रमुख, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, नेपाल पत्रकार महासङ्घबाट १ जना र वडाअध्यक्षहरुबाट वडानं. २ र १७ का वडाध्यक्ष सदस्य रहेका छन् ।

यो समितिले धरानमा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण भएको छ की छैन ? भनेर सम्भावित जोखिम क्षेत्र र स्थानका समुदायलाई कोरोना परीक्षणको दायरामा प्रत्येक वडाबाट तथ्याङ्क तयार गरी २० वटै वडाबाट २ सय जनाको कोरोना परीक्षण गरिने स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

यो समितिले तत्कालै २० वटै वडाका वडाध्यक्षहरूलाई बोलाएर बैठक बसी कुन वडाको कुन स्थानमा सम्भावित संक्रमित र जोखिम रहेको छ । ती स्थान र व्यक्तिको पहिचान गरी उनीहरूलाई कोरोनाको परीक्षण गराई ६ दिन भित्र उनीहरूको स्वाबको नमुना लिइने गरी काम गर्नेछ ।

यो समितिको तथ्याङ्क अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण भएको पाइएमा धरान उपमहानगरपालिकाले पनि त्यही अनुसार कोरोना नियन्त्रण र न्यूनीकरणमा भूमिका निर्वाह गर्ने र निर्णय गर्नेछ ।