धरान : विराटनगर श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ ।

सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् ।

कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चुकुल लगाई कुटपिट गरेको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उपसचिव सञ्जेललाई योजना बनाएरै आक्रमण भएको आशंका गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको देखिएको छ ।

त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिनले प्रहार गरेको प्रहरीको भनाइ छ।

दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। उनीहरुलाई कुटपिटमा संलग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको छ ।