धरान : विराटनगरमा कोरोना सङ्क्रमण समुदाय स्तरमै भएको भन्दै लकडाउन घोषणा गरिएसँगै विराटनगरका अस्पतालहरू पनि धमाधम सिल भइरहेका छन् ।

शनिवार साँझ विराटनगरको न्युरो अस्पतालको इमरजेन्सी वार्ड विराटनगर महानगरपालिकाले सिल गरिदिएको छ । न्युरो अस्पतालका एक जना डाक्टरमा केही दिन अघि कोरोना सङ्क्रमण भएकोले अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको बताइएको छ ।

न्युरो अस्पताल विराटनगरमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि केही दिन अघि भएको भए पनि न्युरो अस्पतालको इमरजेन्सी वार्डमा सिल गरेपछि मात्रै न्युरो अस्पतालको डाक्टरमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको खुलेको हो । संक्रमित डाक्टर विराट नर्सिङ होममा पनि काम गर्ने गर्दथे ।

केही दिन पहिले विराट नर्सिङ होमका सञ्चालक समेत रहेका एक जना डाक्टरलाई सङ्क्रमण भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब सङ्कलन गरेर पिसिआर गर्दा उनमा कोरोना सङ्क्रमण देखिएको हो । विराट नर्सिङ होममा एक जना सञ्चालक तथा डाक्टर र ४ जना नर्सलाई कोरोना सङ्क्रमण भएपछि विराट नर्सिङ होमलाई पनि विराटनगर महानगरपालिकाले सिल गरिदिएको छ ।

यसै गरी कोसी अस्पताल विराटनगरको ओपिडी पनि सिल गरिएको छ । कोसीमा भने अस्पताल आफैले सिल गरेको हो । पछिल्लो समय विराटनगरका अस्पतालहरूमा काम गर्नेहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि अस्पतालहरू सिल हुन थालेका हुन् ।