धरान : सुनसरीमा समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला सुरक्षा समितिको बैठकले साउन २६ गते सम्म सुनसरीमा निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सुरक्षा समितिको बैठकले भरै राती १२ बजेदेखि साउन २६ गते राति १२ बजे सम्म निषेधित क्षेत्र घोषणा गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

सुनसरीको धरान, इटहरी, दुहबी, इनरुवालगायतका स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि जिल्लावासीलाई कोरोनाबाट सुरक्षित बनाउन निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।

निषेधित क्षेत्र भर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

यसअघि सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी नगरपालिले गरेको लकडाउनलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकोले अझ कडा बनाउने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।