धरान : कोसी अस्पताल विराटनगरमा मृत्यु भएका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसङै प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।

कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर– ९ का ४५ वर्षीय पुरुष र रङ्गेली नगरपालिका – ८ दर्बेसाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार विराटनगरका ४५ वर्षीय पुरुषको आज दिउँसो मृत्यु भएको हो । रंगेलीका पुरुष भने मृत्यु भएपछि अस्पताल आइपुगेका थिए ।
कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १:१० बजे मृत्यु भएको हो ।

उनलाई ज्वरो र जन्डिसको समस्या रहेको भन्दै मङ्गलवार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । मृत्यु भइसकेपछि ३:३० बजेतिर रिपोर्ट पोजेटिभ आएको डा. दासले बताए ।

रंगेलीका ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याइएका उनको कोसी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

बिरामी हुँदा कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनको पनि स्वाब सङ्कलन गरेर कोसीको प्रयोगशालामा परीक्षण गराइएको थियो । मृतकको पीसीआर परीक्षण रिपोर्ट दिउँसो ३:३० बजे पोजेटिभ आएको डा. दासले बताए । योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।